सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सशस्त्र प्रहरी सीमा सुरक्षाको पहिलो पहरेदारका रुपामा निष्पक्ष र जिम्मेवार ढंगले काम गर्नुपर्ने बताएका छन्।
कपिलवस्तुको चन्द्रौटामा सशस्त्र प्रहरी बल नेपाल नं. ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीले राखेको नवौँ स्थापना दिवस समारोहमा सम्बोधन गर्दै उनले नागरिकको सेवा, शान्ति सुरक्षा तथा अमन चयन कायम गर्ने कार्यमा सशस्त्र प्रहरी थप जिम्मेवार बन्नुपर्ने बताए।
उनले संगठनले हासिल गरेको व्यावसायिक उपलब्धिलाई व्यक्तिगत स्वार्थमा नभई राष्ट्र हितमा प्रयोग गर्न निर्देशन निर्देशन समेत दिए।
महानिरीक्षक पौडेलले समयानुकूल सुरक्षा रणनीति अवलम्बन गर्दै उच्चस्तरीय अनुशासन कायम गर्नु पर्ने बताए। उनले मानव अधिकारको सम्मान गर्दै आवश्यकताअनुसार बल प्रयोग गर्नु पर्ने बताए।
सीमा सुरक्षा राष्ट्रको संवेदनशील विषय भएकाले सीमामा हुने गतिविधिको सूक्ष्म निगरानी गर्नुपर्ने उनले बताए। सीमा क्षेत्रमा हुने लागूऔषध ओसारपसार तथा नियन्त्रणका लागि विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ।
विपत् व्यवस्थापनमा सशस्त्र प्रहरीले विशेष भुमिका खेल्नु पर्ने उनले बताए। वर्तमान सरकारको सुशासनको अवधारणालाई आत्मसात् गर्दै संगठनको नीति र निर्देशनअनुसार अघि बढ्न पनि उनले आग्रह गरे।
समारोहमा विभिन्न समयमा कर्तव्यपालनका क्रममा मृत्यु भएका सशस्त्र प्रहरी कर्मचारीका परिवारलाई सम्मान गरिएको थियो। साथै विभिन्न विधामा उत्कृष्ट कार्यसम्पादन गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई समेत सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।
बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दीपक अधिकारीले बाहिनीको स्थापना र हालसम्मको गतिविधिबारे जानकारी गराएका थिए। वि.सं. २०७५ भदौ ७ गते स्थापना भएको नं. ५ विन्ध्यवासिनी बाहिनी मुख्यालयअन्तर्गत १२ जिल्ला रहेका छन्।
बाहिनीअन्तर्गत ८ वटा गण, ६ वटा गुल्म, १ वटा मद्दती सेवा गुल्म, ९ वटा सीमा सुरक्षा गुल्म, ५० वटा बीओपी, २७ वटा सुरक्षा बेस र ५ वटा एफओबी गरी कुल १०६ वटा इकाई रहेका छन्।
प्रकाशित: ७ भाद्र २०८३ १८:०५ आइतबार