समाज

९:२६ बजेको त्यो एउटा फोन कल, जसले जोगायो ५२ सुरक्षाकर्मी र ९२३ कैदीको ज्यान

भदौ १० गते बिहान ९ बजेर २६ मिनेट जाँदा आएको एउटा आकस्मिक फोन कल र त्यसपछिको दुई घण्टा नुवाकोट केन्द्रीय कारागारका सुरक्षाकर्मीका लागि जीवनकै सबैभन्दा ठूलो परीक्षा थियो।

एकातिर त्रिशूली नदीको उर्लँदो विनाशकारी भेल, अर्कोतिर ९२३ कैदीबन्दीको ज्यान जोगाउँदै जेलभित्रै चर्किएको आक्रोश नियन्त्रण गर्नुपर्ने दोहोरो चुनौतीबीच ५२ जना सुरक्षाकर्मीले देखाएको अद्भुत साहसले सम्भावित महाविपत्ति टारेको छ।

रसुवाको भोटेकोसीमा बाढी आएलगत्तै सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्र राउतले कारागार सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी निरीक्षक पप्पु यादवलाई फोन गरेर सतर्क गराएका थिए, ‘त्रिशूलीमा ठूलो बाढी आउँदै छ, कैदीबन्दीलाई सुरक्षित स्थानमा सार्नु र आफू पनि सुरक्षित हुनु।’

नियमित ड्युटीमा रहेका बेला उक्त सूचना पाउनासाथ सशस्त्र प्रहरीका इन्स्पेक्टर यादव र नेपाल प्रहरीका इन्चार्ज प्रहरी नायब निरीक्षक (सई) श्रीकृष्ण सुवेदीको नेतृत्वमा रहेका ५२ जना सुरक्षाकर्मी तुरुन्त ‘हाई अलर्ट’ मा जुटे।

उनीहरूले ढिला नगरी कारागारको ब्लक १ र २ मा रहेका ५०५ जना कैदीबन्दीलाई कारागार परिसरभित्रकै सुरक्षित एसेम्बली प्वाइन्टतर्फ सारे। सँगै त्यही भवनमा रहेका हतियारसमेत सुरक्षित गरियो।

कैदीबन्दीलाई सुरक्षित स्थानमा पुर्‍याउन नपाउँदै नदी किनारभन्दा करिब १०० मिटर टाढा रहेको कारागार भवनमा बाढीको पहिलो धक्का लाग्यो।

डेढ किलोमिटर माथिको २५ मेगावाटको नुवाकोट सौर्य परियोजनालाई ध्वस्त पार्दै आएको लेदोसहितको बाढीले पहिले कारागारको प्रशासनिक भवन र त्यसपछि नेपाल प्रहरीको प्रशासनिक भवन भत्कायो।

तर, दुई मिटरको दूरीमा रहेका दुईवटा पेरिमिटर पर्खालले बाढीको गति छेकिदिएका कारण मुख्य कैदीबन्दी भवन जोगियो। पर्खालका केही भाग भत्किएर ब्लक १ र २ मा भने लेदो पस्यो।

बाढी परिसरमा पसेपछि कैदीबन्दीहरूमा त्रास फैलियो र उनीहरू तितरबितर हुन थाले। ५२ जना सुरक्षाकर्मीलाई ९२३ जना कैदीबन्दीलाई शान्त राख्न हम्मेहम्मे पर्‍यो।

त्रासकै बीच ५० भन्दा बढी कैदीबन्दी मूल गेट नै तोडेर बाहिर निस्किए र ठूलो होहल्ला मच्चाए। स्थिति नियन्त्रण बाहिर जान नदिन सशस्त्र प्रहरीका इन्स्पेक्टर यादवले तत्कालै ११ राउन्ड हवाई फायर गरे।

त्यसलगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक अनुप गुरुङको नेतृत्वमा थप सुरक्षाकर्मी घटनास्थल पुगे। होहल्ला र त्रासकै मौका छोपेर दुई जना कैदी खेतैखेत नजिकैको जङ्गलतर्फ भाग्न थालेका थिए।

तर, प्रहरी निरीक्षक गुरुङ आफैँ दौडिएर बिहान ११ बजेतिर उनीहरूलाई नियन्त्रणमा लिन सफल भए। अन्ततः बिहान ११:३० बजेसम्म बाढी शान्त भयो र सबै कैदीबन्दीलाई कारागारभित्रै सुरक्षित व्यवस्थापन गरियो।

बाढीको प्रत्यक्ष जोखिम टरेपछि भदौ १२ गते कारागारमा रहेका ३२ जना महिला कैदीबन्दीलाई मकवानपुरको भीमफेदी कारागारमा स्थानान्तरण गरिएको छ।

हाल कारागारमा बालसुधार गृहका १३८ जनासहित कुल ८८७ जना कैदीबन्दी रहेका छन्। उनीहरूको सुरक्षार्थ सशस्त्र प्रहरी बलका ६२ र नेपाल प्रहरीका २० जना सुरक्षाकर्मी परिचालित छन्।

बाढीले दुईवटा ब्लकमा क्षति पुर्‍याएपछि हाल नियमित कैदीबन्दी र बालसुधार गृहका किशोरहरूलाई एउटै युनिटभित्रका दुई ब्लकमा राखिएको छ। यो सुरक्षाका हिसाबले जोखिमपूर्ण हो।

यद्यपि, नदी किनारमा रहेको कारागारको प्रशासनिक भवनलाई भने सुरक्षित स्थानमा सारिसकिएको छ।  -रासस

प्रकाशित: २१ भाद्र २०८३ २१:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App