समाज

नेपालगन्जमा दशौं लुम्बिनी प्रदेश स्तरीय महिला उद्यमी प्रदर्शनी सुरु

महिला उद्यमीले उत्पादन गरेका वस्तुको बजारीकरण र प्रवर्द्धन गर्ने उद्देश्यसहित दशौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी मेला नेपालगन्जमा बुधबारदेखि सुरु भएको छ। महिलाउद्यमी संघ नेपाल बाँकेको आयोजनामा प्रदर्शनी सञ्चालनमा आएको हो।

प्रदर्शनीको उद्घाटन नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले गरे। उद्घाटन समारोहमा मेयर विष्टले महिलाउद्यमी संघले छोटो समयमा धेरै महिलालाई उद्यमशीलतामा जोड्दै उत्पादन र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको बताए। महिलाले उत्पादन गरेका वस्तुलाई बजारसँग जोडेर आर्थिक रूपमा सबल बनाउने काम संघले गर्दै आएको उल्लेख गर्दै उनले प्रदर्शनीले आपसी अनुभव आदान–प्रदान र उत्साह प्रदान गर्ने विश्वास व्यक्त गरे।

महिलाउद्यमी महासंघ नेपालकी अध्यक्ष दर्शना श्रेष्ठले महिलाउद्यमीलाई सीप र बजार दुवैको आवश्यकता रहेको भन्दै महासंघले त्यसमा सहजीकरण गर्दै आएको बताइन्। महिलाउद्यमीलाई अघि बढाउन स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ। महासंघले देशभरका महिलाउद्यमीले उत्पादन गरेका वस्तु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रदर्शनीमार्फत प्रवर्द्धन गर्दै आएको पनि उनले जानकारी दिइन्।

महिलाउद्यमी संघ बाँकेकी अध्यक्ष रेवती सिंहले महिलालाई आर्थिक रूपमा सक्षम र आत्मनिर्भर बनाउने उद्देश्यले संघले निरन्तर प्रेरणा प्रदान गर्दै आएको बताइन्। उनले भनिन्, ‘नेपालगन्जमा आयोजना हुने प्रदर्शनीबाट हरेक वर्ष सयौं महिलाले व्यापार व्यवसाय प्रवर्द्धन गर्ने अवसर पाउँछन्, नयाँ ज्ञान र सीप आदान–प्रदान हुन्छ। देशको आर्थिक विकासमा उद्यमशीलता महत्वपूर्ण पक्ष हो, जसलाई राज्यले प्राथमिकताका साथ प्रवर्द्धन गर्नुपर्छ।’

प्रदर्शनी उद्घाटन समारोहमा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरी शर्मा, प्रदर्शनीका मुख्य प्रायोजक केएल दुगड ग्रुपका महाप्रबन्धक प्रदिप छाजेड, महिलाउद्यमी महासंघ नेपालका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष सरस्वती शर्मा पराजुली, संघ बाँकेका प्रथम उपाध्यक्ष आभा गौतमलगायतले मन्तव्य राखेका थिए।

संघका अनुसार प्रदर्शनी माघ १८ गतेसम्म सञ्चालन हुनेछ। बागेश्वरी मन्दिर परिसरको पार्कमा आयोजित प्रदर्शनीमा नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोग तथा केएल दुगड ग्रुपको मुख्य प्रायोजन रहेको छ। प्रदर्शनीमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट महिलाले उत्पादन गरेका वस्तु राखिएका छन्।

प्रकाशित: १४ माघ २०८२ १९:२० बुधबार