समाज

काम नगर्ने ठेकेदारलाई कारबाही अघि बढ्यो

यहाँको टेम्केमैयुङ गाउँपालिकाले ठेक्का सम्झौताअनुसार निर्माण नगर्ने ठेकेदारलाई कारबाही अघि बढाएको छ। आर्थिक वर्ष २०७७/७८ थालिएको १५ शय्याको कोट अस्पताल निर्माणलाई अलपत्र पार्ने निर्माण कम्पनीलाई कारबाही अघि बढाएको हो।

गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै निर्माण कम्पनी भूमि हिमालयन जेभी विराटनगरलाई आवश्यक स्पस्टीकरणसहित सात दिनभित्र सम्पर्क आउन निर्देशन दिएको छ। तोकिएको समयभित्र सम्पर्कमा नआएमा प्रचलित ऐन, नियमावली तथा सम्झौताअनुसार एकतर्फी रूपमा कारबाही प्रक्रिया अघि बढाइने स्पष्ट पारिएको छ।

समयमा काम सम्पन्न नगरेको, निर्माणस्थल अलपत्र छाडिएको तथा पटकपटक ताकेता गर्दासमेत सम्पर्कमा नआएको भन्दै सम्बन्धित निर्माण कम्पनीमाथि कारबाही प्रक्रिया अघि बढाइएको सूचनामा उल्लेख गरिएको छ। गाउँपालिकाले सार्वजनिक खरिद ऐन, २०६३, सार्वजनिक खरिद नियमावली, २०६४ तथा सम्झौतामा गरिएको शर्तबमोजिम कारबाही प्रक्रिया अगाडि बढाउन सकिने जनाएको छ। कानुनी प्रावधानअनुसार ठेक्का रद्द गर्ने, धरौटी जफत गर्ने वा अन्य प्रशासनिक कारबाहीसमेत हुनसक्ने सङ्केत गरिएको छ।

निर्माण निर्धारित समयमै सम्पन्न नहुँदा स्थानीय बासिन्दाले स्वास्थ्य सेवा विस्तारमा ढिलाइ भएको गुनासो गर्दै आएका छन्। अस्पताल भवन निर्माण ढिलाइ हुँदा सेवाग्राहीले आवश्यक स्वास्थ्य सुविधा समयमै नपाउने अवस्था सृजना भएको छ। यस किसिमको गैरजिम्मेवार व्यवहारप्रति कडाइ गर्दै सार्वजनिक विकास निर्माणलाई प्रभावकारी र समयमै सम्पन्न गराउन स्थानीय तह प्रतिबद्ध रहेको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए। रासस 

प्रकाशित: १० चैत्र २०८२ १०:५९ मंगलबार