बाढी प्रभावित क्षेत्रमा अवरुद्ध नेपाल टेलिकमको मोबाइल सेवा त्रिशूली-३ ‘ए’ र तुप्चेमा पुनः सञ्चालनमा आएको छ। टावर पुनः सञ्चालन भएसँगै जलविद्युत् आयोजनाको सुरुङभित्र भइरहेको उद्धार कार्यका लागि आवश्यक सञ्चार सम्पर्क थप सहज बनेको छ।
टेलिकमका अनुसार त्रिशूली-३ ‘ए’ को टावर सञ्चालनका लागि आवश्यक जेनेरेटर र इन्धन कम्पनीको आफ्नै सवारी साधन तथा करिब एक घण्टा भरियामार्फत ढुवानी गरेर साइटसम्म पुर्याइएको थियो। प्राविधिक परीक्षण पूरा गरेपछि उक्त टावरबाट सेवा सुचारु गरिएको हो।
यसैगरी, तुप्चेस्थित बिटिएस टावर पनि शनिबारदेखि नै सञ्चालनमा ल्याइएको छ। उक्त स्थानमा जेनेरेटर, इन्धनसहित प्राविधिक टोलीलाई हेलिकोप्टरमार्फत पुर्याइएको थियो।
तुप्चे टावर सुचारु भएसँगै त्रिशूली-३ ‘बी’ आयोजना क्षेत्र, बेत्रावती तथा कालिकास्थानका केही भागमा टेलिकमको नेटवर्क पुनः जोडिएको छ।
विपद्को संकटपूर्ण समयमा सञ्चार सेवालाई निरन्तरता दिन प्राविधिकहरू कार्यक्षेत्रमा निरन्तर खटिरहेको टेलिकमले जनाएको छ। कम्पनीले आवश्यक सहयोग तथा आपत्कालीन सेवाका लागि १२३४, १०० र १११४ मा सम्पर्क गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
प्रकाशित: १३ भाद्र २०८३ १६:०९ शनिबार