समाज

शिक्षक हत्यामा ११ आरोपित पक्राउ

केपिलासगढी गाउँपालिका–७ सुङदेलस्थित सूर्य माध्यमिक विद्यालयका शिक्षक भानुभक्त राईलाई कुटपिट गरी हत्या गरेको आरोपमा पक्राउ परेकाहरूको नामावली प्रहरीले सार्वजनिक गरेको छ।

भोजपुरको साल्पासिलिछो गाउँपालिका–५ दोभानेस्थित माबुमा लाग्ने भदौरे मेला घुम्न गएका ३९ वर्षीय शिक्षक राईको कुटपिट गरी हत्या गरेको आरोपमा पक्राउ परेका ११ आरोपितको नामावली जिल्ला प्रहरी कार्यालय भोजपुरले आइतबार सार्वजनिक गरेको हो।

शिक्षक राईको हत्या आरोपमा पक्राउ पर्नेमा एउटै गाउँ सुङ्देलका सागर कोयी राई, प्रतीक राई, निशान राई,सुशील राई, अमर राई, उमेश दुमी राई, तारादेवी राई, सुमिता राई, तेजकुमारी राई, देविका राई र चन्द्रकला राई छन्।

पक्राउ परेका उनीहरू सबैलाई आइतबार जिल्ला अदालत भोजपुरमा उपस्थित गराएर थप अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक महेन्द्र पराजुलीले बताए।

आरोपितले शिक्षक राईलाई पुरानो रिसइबीका कारण कुटपिट गरी हत्या गरेको पुष्टि भएपछि उनीहरूलाई पक्राउ गरिएको हो। शिक्षक राईको यही भदौ ११ गते राति कुटपिटबाट हत्या भएको पुष्टि भएको थियो।भदौ १२ गते उनीहरूलाई पक्राउ गरिएको थियो।

विद्यालयका प्रधानाध्यापक ललितचन्द्र राईका अनुसार राहत कोटाको निम्नमाध्यमिक तहमा कार्यरत शिक्षक राई लगातार तीन दिन विद्यालय बिदा भएपछि सङ्खुवासभा पुगेर फर्कने भन्दै गाउँबाट हिँडेका थिए। सोही दिन साँझ उनी धार्मिक तथा पर्यटकीयस्थल सालपापोखरी पुगेका थिए। सामान्य विवादका क्रममा उनको हत्या भएको प्रहरीले जनाएको छ।

शिक्षक राई र सुङ्देलकै माइकल भनिने निशान राईको बीचमा भदौ ११ गते साँझ सालपापोखरी नजिकै माबुमा लागेको धार्मिक मेलामा विवाद भएको प्रत्यक्षदर्शीले बताएका छन्।

पुरानो रिसइबीको आधारमा माइकलसँग साँझ विवाद भएपछि उनैले राति योजनाबद्ध तरिकाले कुटपिट गरी शिक्षक राईको हत्या गरेको मृतकका आफन्तले आरोप लगाएका छन्।

मृतक राई र माइकलको बीचमा यसअघि पनि गाउँमा पटकपटक विवाद तथा झगडा हुँदै आएको छिमेकीले बताएका छन्। शिक्षक राईको हत्या आरोपमा एउटै गाउँका ११ जना एकैसाथ पक्राउ परेपछि गाउँमा तनाव सिर्जना भएको स्थानीयले बताएका छन्।

खोटाङका शिक्षक राईको हत्या भएको क्षेत्र भोजपुर जिल्लामा पर्ने भएकाले अनुसन्धान तथा कारबाहीको सबै प्रक्रिया जिल्ला प्रहरी कार्यालय भोजपुरले गर्नेछ। भोजपुरमा भएको घटनाका विषयमा थप अनुसन्धानका लागि आवश्यक सहयोग जिल्लाबाट गरिने जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिए।

प्रकाशित: १५ भाद्र २०८३ ०६:१५ सोमबार