नेपाली चिया उद्योग गम्भीर संकटमा परेको भन्दै झापाका चिया उद्योगीले पनि उद्योग बन्दको घोषणा गरेका छन् । इलामका चिया बगान बन्द गरेर उद्योगी प्रदर्शनमा उत्रिएपछि झापामा पनि बिहीबारदेखि चिया उद्योग तथा चिया बगान अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरिएको छ ।
भारतीय चिया बोर्डले हालै लागू गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसेजर’ (एसओपी) का कारण नेपाली चिया भारततर्फ निर्यात प्रभावित भएपछि उद्योगीहरू आन्दोलनमा उत्रिएका हुन्।
नेपाल चिया उत्पादक सङ्घ झापाले बुधबार भद्रपुरमा पत्रकार सम्मेलन गर्दै भारतीय नीतिका कारण निर्यात ठप्प हुँदा उद्योग सञ्चालन गर्न कठिन भएको जनाएको छ।
सङ्घका महासचिव शुक्र दाहालका अनुसार नेपालमा उत्पादित सिटिसी तथा अर्थोडक्स चियाको वार्षिक कारोबार करिब १२ देखि १४ अर्ब रुपैयाँसम्म पुग्ने गरेको छ, जसमा करिब पाँच अर्ब रुपैयाँ बराबरको चिया भारत निर्यात हुँदै आएको छ।
उद्योगीहरूले भारतमा निर्भर निर्यात संरचनाका कारण नेपाली चिया क्षेत्र उच्च जोखिममा परेको भन्दै सरकारले तत्काल कूटनीतिक तथा व्यापारिक पहल गर्नुपर्ने माग गरेका छन्।
सङ्घले विकल्पका रूपमा बङ्गलादेश, पाकिस्तानलगायत तेस्रो मुलुकमा नेपाली चिया निर्यात विस्तार गर्न सरकारसँग पहल गर्न आग्रह गरेको छ।
चिया क्षेत्र नेपालका प्रमुख रोजगारीमुखी उद्योगमध्ये एक मानिन्छ। यस क्षेत्रले करिब ६० हजार श्रमिक तथा कर्मचारीलाई प्रत्यक्ष रोजगारी दिँदै आएको छ भने राज्यलाई वार्षिक करिब एक अर्ब रुपैयाँ राजस्व योगदान गर्दै आएको उद्योगीहरूको भनाइ छ।
उद्योग बन्दको निर्णयले निर्यात मात्र होइन, उत्पादन, श्रमिकको रोजगारी र समग्र चिया अर्थतन्त्रमा समेत प्रत्यक्ष असर पर्ने चिन्ता व्यक्त गरिएको छ।
प्रकाशित: ३ असार २०८३ १६:४१ बुधबार