समाज

सुर्तीजन्य पदार्थमाथिको कर सबैभन्दा कम नेपालमा

सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रणसम्बन्धी विश्व स्वास्थ्य संघको ढाँचामा प्रतिबद्धता जनाएअनुसार सुर्तीजन्य पदार्थमा सबैभन्दा कम कर वृद्धि गर्नेमा नेपाल रहेको सरोकारवालाले औंल्याएका छन्। स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रद्वारा आइतबार आयोजित अन्तरक्रियामा उनीहरूले यस्तो चेतावनी दिएका हुन्। दक्षिण एसियाली मुलुकमध्ये नेपाल सुर्तीजन्य पदार्थमा सबैभन्दा कम कर वृद्धि गर्ने मुलुक रहेको औंल्याएका हुन्।

दक्षिण एसियाली मुलुकहरूको कर वृद्धि सूची हेर्दा नेपालमा ४१ प्रतिशत, पाकिस्तानमा ५२ प्रतिशत, बंगलादेशमा ५८ प्रतिशत, श्रीलंकामा ६७ प्रतिशत र भारतमा ५८ प्रतिशत छ। तर विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार प्रतिबद्धता जनाएका हरेक राष्ट्रले ७५ प्रतिशत अन्तशुल्क कर लिनुपर्छ।

विश्व स्वास्थ्य संगठनको सुर्तीजन्य पदार्थ नियन्त्रण ढाँचाका पाँचवटा कार्यविधिअन्तर्गत सुर्तीजन्य पदार्थमा कर वृद्धि गरेमा उपभोग स्वतः कम हुन्छ भन्ने मान्यता हो। यो मान्यताअनुरूप थुपै्र देशमा अभ्यास भएको र नियन्त्रणमा सहयोग पुगेको नेपाल विकास तथा अनुसन्धान परिषद्का अनुसन्धानकर्ता डा. जयकुमार गुरुङ बताउँछन्।

सरकारले बजेट भाषणमा गर्ने सुर्तीजन्य पदार्थमाथिको कर वृद्धि गर्ने विषयमा हल्ला मात्र बढी हुने तर व्यवहारमा प्रति खिल्ली पचास पैसा पर्न आउने कारण यसको खपतमा खासै परिवर्तन आउन नसकेको उनले बताए। चालु आर्थिक वर्षमा नेपालले सुर्तीजन्य पदार्थमा अन्तशुल्क कर १३ प्रतिशतले वृद्धि गर्दा प्रति खिल्ली ०.६ स्वास्थ्य जोखिम कर लागु भएको छ।

कर वृद्धिको हल्ला गरे पनि अन्तशुल्क करमा वृद्धि नहुँदा सुर्तीजन्य पदार्थको बजार मूल्यमा खास अन्तर नपरेको गुरुङले बताए। उनले भने, ‘विलासीजन्य र स्वास्थ्यमा हानि गर्ने खालका वस्तुमा लगाइने करको स्वरूपमै परिवर्तन गरेमा मात्र परिणाममुखी कर वृद्धि हुने देखिन्छ।’

नेपालमा सुर्तीजन्य पदार्थको कर वृद्धि सिगरेटका आधारमा मापन गरिने र अन्य सुर्तीजन्य पदार्थमा भने किलोग्रामका आधारमा गरिँदा अत्यन्त कम कर हुने गरेको गुरुङले औंल्याए।

कर वृद्धिमा खासै सुधार नभएकै परिणाम नेपालमा सुर्तीजन्य पदार्थ प्रयोगमा नियन्त्रण आउन नसकेको प्रति वर्ष जनस्वास्थ्यमा गम्भीर असर परेको स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र स्वास्थ्य प्रवर्द्धन तथा सुर्तीजन्य पदार्थ नियन्त्रण शाखाका प्रमुख उपेन्द्र ढुंगानाले बताए। उनले प्रस्तुति दिँदै नेपालमा नसर्ने रोगले हुने मृत्युमध्येमा सबैभन्दा बढी क्यान्सरको मृत्यु बढी हुने गरेको बताए।

क्यान्सरको प्रमुख कारण सुर्तीजन्य पदार्थको प्रयोग हो। सुर्तीजन्य पदार्थ प्रयोगका कारण मुटु, फोक्सो तथा घाँटी, मुखको क्यान्सर, दम, मधुमेहजन्य रोग लाग्छ। यी रोगका कारण नेपालमा प्रति वर्ष ३९ हजार दुई सयको मृत्यु हुन्छ भने विश्वमा प्रति वर्ष ८० लाख व्यक्तिको मृत्यु हुन्छ। त्यसैगरी निस्क्रिय धूमपानका कारण प्रति वर्ष ११ हजार व्यक्तिको मृत्यु हुने गरेको तथ्यांक छ।

धूमपान सेवनमा सबैभन्दा बढी युवा पुस्ताको आकर्षण बढ्नुले सुर्तीजन्य पदार्थ नियन्त्रणको लक्ष्यमा चुनौती थपिएको ढुंगानाले बताए। तथ्यांक अनुसार सन् २००७ मा सुर्तीजन्य पदार्थ प्रयोग गर्नेको संख्या ३७ प्रतिशत थियो भने सन् २०२५ मा २९ प्रतिशत पुगेको छ। अभियानको लामो अवधिमा घट्ने दर कम भएकाले सन् २०३० भित्र १५ प्रतिशतमा झार्ने लक्ष्यमा चुनौती देखिएको हो।

वर्तमान स्थितिमा तीव्र सुधार ल्याई नियन्त्रणका लागि सुर्तीजन्य पदार्थमा कर वृद्धि उचित उपाय भएको अनुसन्धानकर्ता डा. गुरुङले सुझाए। उनका अनुसार दक्षिण एसियाली राष्ट्रबराबर कर वृद्धि गर्ने, कर संरचनालाई सरल बनाएर लागु गर्ने र अन्तशुल्क करमा पुनरावलोकन गर्नुपर्ने देखिन्छ।

राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सञ्चार केन्द्रका प्रमुख डा. केशवराज पण्डितका अनुसार सुर्तीजन्य पदार्थ ऐन संघीयता लागु हुनुअघिको भएकाले यसको संशोधन आवश्यक रहेको सुझाए। उनले भने, ‘कतिपय कानुनी प्रावधान नमिल्दा पनि कारबाही गर्न अप्ठेरो परेको छ’, उनले भने।

सुर्तीजन्य उद्योगको छली र सरकारी संयन्त्रका कर्मचारीमाथि पार्ने प्रभावका कारण पनि कर वृद्धि हुन नसकेको उनीहरूको आरोप छ।

प्रकाशित: २३ भाद्र २०८२ १०:२८ सोमबार