समाज

तीन दिनका लागि खुल्यो तातोपानी नाका, नियमित सञ्चालन गर्न व्यवसायीको माग

फाइल तस्बिर

सिन्धुपाल्चोकस्थित तातोपानी नाका तीन दिनका लागि सञ्चालनमा आएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार कात्तिक १ देखि ३ गतेसम्मका लागि नाका खुला गरिएको हो।

मन्त्रालयले जारी गरेको प्रेस नोटअनुसार उक्त अवधिमा मालवाहक सवारीसाधनलाई मात्र नाकाबाट आवतजावत गर्न अनुमति दिइएको छ। तर, दशैं, तिहारलगायतका चाडपर्व लक्षित व्यापार प्रभावित भइरहेका बेला व्यवसायीले नाकालाई तीन दिनमा सीमित नगरी नियमित सञ्चालन गर्न माग गरेका छन्।

नेपाल हिमालय सीमापार वाणिज्य संघले तातोपानी–खासा नाका तत्काल र नियमित रूपमा सञ्चालन गर्न माग गरेको छ। संघका महासचिव रामचन्द्र पराजुलीका अनुसार नाका नियमित सञ्चालनका लागि नेपालस्थित चिनियाँ दूतावासमा ध्यानाकर्षण पत्रसमेत बुझाइएको छ।

‘तीन दिनमात्र होइन, नियमित सञ्चालनका लागि माग राखेका छौँ,’ पराजुलीले भने।

उनका अनुसार नाका बन्द हुँदा चीनबाट सामान ल्याउन प्रतीक्षामा रहेका कन्टेनर नेपाल र चीन दुवैतर्फ रोकिएका छन्। यसले चाडपर्व लक्षित व्यापार प्रभावित हुनुका साथै व्यवसायीलाई आर्थिक क्षति पुर्‍याएको छ।

हालैका गम्भीर मौसमी घटनाका कारण स्थलमार्गमा अवरोध र क्षति पुगेको अवस्थामा तातोपानी नाका सीमापार व्यापारका लागि व्यावहारिक र प्रभावकारी मार्गका रूपमा रहेको संघको भनाइ छ। दशैं र तिहारको समयमा चाडपर्व लक्षित सामान बोकेका सयौँ कन्टेनर सीमामा रोकिँदा व्यापारमा समस्या उत्पन्न भएको पराजुलीले बताए।

सीमामा रोकिएका सामानमध्ये नाशवान् वस्तु, कृषि उत्पादन र मौसमी व्यापारिक सामग्रीसमेत रहेकाले ती बिग्रने जोखिम बढेको छ। यसबाट साना व्यापारीले ठूलो आर्थिक क्षति बेहोर्नुपर्ने र नेपाली बजारमा वस्तुको अभाव हुन सक्ने अवस्था रहेको संघले जनाएको छ।

पराजुलीले नेपाली पक्षका सम्बन्धित सडक निकाय र स्थानीय सरोकारवालाले सडकमा रहेका अवरोध हटाएर सुरक्षित आवागमन पुनःस्थापना गरिसकेको जानकारी दिए। भन्सार जाँचपास तथा सवारीसाधनको आवागमनका लागि सडक पूर्ण रूपमा सञ्चालनयोग्य रहेकाले नाका नियमित सञ्चालन गर्नुपर्ने उनको भनाइ छ।

चीनले गत भदौ १५ देखि अर्को सूचना जारी नभएसम्मका लागि तातोपानी नाका पूर्ण रूपमा बन्द गरेको थियो। भदौ १० मा भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवा र नुवाकोटका विभिन्न बस्तीमा क्षति पुर्‍याएपछि चिनियाँ पक्षले तातोपानी नाका पनि बन्द गरेको थियो।

तीन दिनका लागि नाका खुला गरिए पनि नियमित सञ्चालनबारे स्पष्ट निर्णय नहुँदा चीनसँगको व्यापार र चाडपर्व लक्षित आपूर्ति व्यवस्थापनमा चुनौती कायमै रहेको व्यवसायीको भनाइ छ।

प्रकाशित: १ कार्तिक २०८३ १४:२१ आइतबार