गृहमन्त्री सुधन गुरुङ र बलात्कारपछि हत्या गरिएकी बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीका परिवारबीच वार्ता सुरु भएको छ।
गृहमन्त्रालयमा जारी वार्तामा गरिमाका बुवा मनोज चौधरी, आमा मानमती चौधरीसहित परिवारका सदस्य तथा आफन्त सहभागी छन्।
वार्तामा बालिका हराएदेखि प्रहरीले गरेको खोजी तथा अनुसन्धान, परिवारले दिएको जाहेरी, शव फेला परेको अवस्था र घटनाको अनुसन्धानको पछिल्लो अवस्थालगायत विषयमा छलफल भइरहेको बताइएको छ।
जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरकी गरिमा साउन ३१ गते बिहानदेखि सम्पर्कविहीन भएकी थिइन्। परिवार तथा स्थानीयले खोजी गर्ने क्रममा भदौ २ गते घरनजिकैको एक घरमा उनको शव फेला परेको थियो।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार बालिकाको शव विभत्स तथा अमानवीय अवस्थामा फेला परेको थियो।
घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्न माग गर्दै विभिन्न राजनीतिक दल, नागरिक समाज तथा संघसंस्थाले विरोध जनाउँदै आएका छन्। उनीहरूले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कडा कानुनी कारबाही र पीडित परिवारलाई न्याय सुनिश्चित गर्न माग गरेका छन्।
परिवारसँग गृहमन्त्रीको वार्तालाई घटनाको अनुसन्धान र न्यायका लागि सरकारले चाल्ने आगामी कदमका विषयमा महत्वपूर्ण मानिएको छ।
प्रकाशित: ६ भाद्र २०८३ २०:२२ शनिबार