चितवनको रत्ननगर–२ स्थित महेश्वर शिवालय मन्दिरमा मंगलबार छुट्टै रौनक थियो। मन्दिर परिसरमा नेपालीसँगै केही विदेशी नागरिकको पनि चहलपहल देखिन्थ्यो। दुई जना पण्डित पूजा विधिमा व्यस्त थिए। मन्त्रोच्चारणसँगै बाजागाजाको धुन गुञ्जिरहेको थियो। कोही पूजाका सामग्री मिलाउँदै थिए भने कोही विधि पूरा गर्न सहयोग गरिरहेका थिए। मन्दिरको बीचमा बसेर चौरासी पूजामा सहभागी भइरहेकी थिइन्, स्विट्जरल्यान्डकी नागरिक डा. रुथ गोन्सेथ।
गोन्सेथ बौद्ध धर्मावलम्बी भए पनि हिन्दू परम्पराअनुसार चौरासी पूजा गरिरहेकी थिइन्। चौरासी पूजा गर्न तीन महिनाअघि नै नेपाल आएकी गोन्सेथ निकै खुसी देखिन्थिन्। सन् १९४३ मे ३१ मा स्विट्जरल्यान्डमा जन्मिएकी डा. गोन्सेथले हिन्दू परम्पराअनुसार चौरासी पूजा गरेर नेपालीसँग जोडिएको दशकौँ लामो आत्मीय सम्बन्ध दर्शाएकी छन्। नेपाली समाजले आफूलाई दिएको माया र सम्मानप्रति उनी निकै भावुक र खुसी देखिन्थिन्।
“मलाई धेरै राम्रो लाग्यो। म निकै खुसी छु। मेरो छोरा पनि स्विट्जरल्यान्डबाट आएको छ। यो पूजामा सहभागी हुन पाउँदा धेरै खुसी लागेको छ,” उनले भनिन्, “यो मेरा लागि निकै खुसीको कुरा हो।”
स्विट्जरल्यान्डमा चौरासी पूजाजस्तो संस्कार नरहेको उल्लेख गर्दै उनले नेपालमा नेपालीहरूले आफ्नो संस्कारअनुसार पूजा गरिदिएकोमा विशेष खुसी व्यक्त गरिन्। “म बुद्धिस्ट हुँ। तर यहाँ मेरा साथीभाइले मेरो चौरासी पूजा गरिदिनुभयो। यो मेरा लागि निकै खुसीको कुरा हो,” उनले भनिन्। उनी पञ्चेबाजाको तालमा छमछमी नाचेकी थिइन्। उनले आफ्नो तौल बराबरको सिक्का पैसा पनि तुलादान गरिन्।
डा. गोन्सेथको चितवनसँगको सम्बन्ध आजको होइन। १८ वर्षअघि चितवन आएकी उनी शान्ति मेड नेपाल संस्थामार्फत स्वास्थ्य सेवा, सामाजिक सहयोग र मानवीय सेवामार्फत चितवनमा काम गर्दै आएकी छन्। विशेषगरी बकुलहर अस्पतालको विकासमा उनको ठूलो योगदान छ। बकुलहर अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. अरुण गुरुङसहितको टोलीले उनको सम्झनामा चौरासी पूजाको व्यवस्था मिलाएको हो।
गोन्सेथको कर्ताका रूपमा बकुलहर अस्पतालका सूर्य श्रेष्ठ बसेका थिए। उनले नै बकुलहर अस्पतालसँग काम गर्ने वातावरण मिलाएका थिए। “सुरुमा उनले यहाँ लामो समय बसेर काम गर्न सक्दिनँ भन्नुभएको थियो। अस्पतालको अवस्था र यहाँको आवश्यकता बुझेपछि उनले सेवा गर्न सकिन्छ भन्नुभयो। त्यसपछि सन् २०१४ देखि उहाँले यहाँ सेवा दिन थाल्नुभयो,” श्रेष्ठले विगत सम्झिए।
उनका अनुसार डा. गोन्सेथले रत्ननगरमा स्वास्थ्य सेवाको विकासका लागि योजनाबद्ध रूपमा काम अगाडि बढाइन्। स्वास्थ्य संस्थामा आवश्यक पूर्वाधार विकास गर्ने क्रममा डायलाइसिस सेवा सुरु गर्नेदेखि स्त्रीरोग, हाडजोर्नी तथा अर्थोपेडिक सेवा विस्तार, शल्यक्रियाका लागि अपरेसन थिएटर निर्माण र महिलाका लागि महिला चिकित्सकको व्यवस्था गर्नेसम्मका काममा उनले योगदान गरिन्। छालारोगसम्बन्धी सेवा विस्तारमा पनि उनको भूमिका रहेको श्रेष्ठले बताए। आफू नेपालबाट फर्किए पनि यहाँका नागरिकले निरन्तर स्वास्थ्य सेवा पाउन सकून् भन्ने उनको चाहना रहेको श्रेष्ठको भनाइ छ।
“म यहाँबाट गए पनि रत्ननगरका बासिन्दाले सेवा पाइरहून् भन्ने उहाँको सोच थियो। त्यसैले छुट्टै भवन निर्माण गरेर अस्पताललाई व्यवस्थित बनाउने इच्छा राख्नुभयो,” उनले विगत सम्झँदै भने, “उद्योग वाणिज्य संघ र रत्ननगर नगरपालिकासँग साझेदारी गरेर अस्पतालको भवन बनाउने योजना पनि अघि बढाउनुभयो।” बकुलहर अस्पताल हिजो स्वास्थ्य चौकी र सानो उपचार केन्द्रका रूपमा चिनिने संस्था भए पनि अहिले अस्पतालका रूपमा स्थापित हुन पुगेको छ।
श्रेष्ठका अनुसार उमेर बढ्दै जाँदा डा. गोन्सेथ स्वदेश फर्किएकी थिइन्। यद्यपि वर्षको एक पटक भने नेपाल आउने गरेको उनले बताए। यसपटक भने चौरासी पूजा गर्न नै नेपाल आएकी हुन्। “उनको बुढ्यौलीमा यहाँ आउन नसक्ने अवस्था भए पनि रत्ननगरको सम्झना रहिरहोस् भन्ने उद्देश्यले चौरासी पूजा गरेका हौँ,” उनले भने, “उहाँप्रति सम्मान व्यक्त गर्न पाउँदा हामीलाई पनि गर्व लागेको छ।”
डा. गोन्सेथको योगदान अस्पतालमा मात्र सीमित छैन। शान्ति मेड नेपाल संस्थामार्फत उनले असहाय वृद्धवृद्धाको संरक्षण तथा हेरचाहमा सक्रिय असहाय वृद्ध कल्याण आश्रम, बकुलहर अस्पताल, गामबेँसी चेपाङ केन्द्र, नवोदय स्कुल र अन्त्योदय स्कुललगायत संस्थामा सहयोग पुर्याएकी छन्।
सन् २००८ देखि नेपाल आउन थालेकी डा. गोन्सेथले सन् २०१४ देखि बकुलहर अस्पतालमा जोडिएर नियमित रूपमा काम गरेको उनीसँग नजिक रहेर काम गरेका देवेन्द्र श्रेष्ठले बताए। “बुद्धको सिद्धान्तबाट प्रभावित भएर पनि उहाँले सबै धर्म र संस्कृतिलाई उत्तिकै सम्मान गर्नुहुन्छ। चौरासी पूजा गर्ने प्रस्ताव राख्दा उहाँले सहर्ष स्वीकार गर्नुभयो,” पाण्डेले भने, “हामी साथीभाइ मिलेर चौरासी पूजा गरिदिएका हौँ।”
पूजामा उनका छोरा माइकलको समेत उपस्थिति थियो। बकुलहर अस्पतालका कर्मचारी तथा उनका विदेशी नागरिक साथीहरूको पनि उपस्थिति रहेको थियो।
प्रकाशित: ८ मंसिर २०८३ १९:४० मंगलबार


-600x400.jpg)
