समाज

भोटेकोशीको बाढीको जोखिम बढेपछि सुस्ता गाउँ खाली गराइँदै

नारायणी नदीपारी रहेको सुस्ता गाउँ भोटेकोशी नदीमा आएको भीषण बाढीको सम्भावित प्रभावबाट जोखिममा परेपछि खाली गराउन थालिएको छ।

तिब्बततर्फबाट आएको भोटेकोशीको बाढीको प्रभाव नारायणी नदीमा समेत पर्न सक्ने जोखिम देखिएपछि सुस्ताका बासिन्दालाई सुरक्षित स्थानमा सार्न थालिएको नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिए।

उनका अनुसार सुस्ताका स्थानीयलाई नदीवारि रामनगरस्थित शिव गंगाकुञ्ज प्राथमिक विद्यालयमा स्थानान्तरण भइरहेको छ। स्थानीयलाई घरमा रहेका महत्वपूर्ण सामान अग्लो तथा सुरक्षित स्थानमा राख्न लगाएर अस्थायी रूपमा विद्यालयमा सारिएको हो।

सुस्तामा करिब २२० घरधुरीका १ हजार ४५७ जना बसोबास गर्दै आएका छन्। उनीहरूको उद्धार तथा स्थानान्तरणका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन गरिएको छ। सुस्तामै रहेका सुरक्षाकर्मीका युनिट कार्यालयलाई समेत स्थानीयको स्थानान्तरणपछि सुरक्षित स्थानमा सारिने प्रमुख जिल्ला अधिकारी नेपालले बताए।

बाढीको जोखिमलाई ध्यानमा राख्दै प्रशासनले नारायणी नदी आसपासका अन्य बस्तीलाई समेत उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। विशेषगरी प्रतापपुर र सुस्ता गाउँपालिकाअन्तर्गत नारायणी नदी किनारका बस्तीमा बाढी पस्न सक्ने सम्भावना रहेकाले स्थानीयलाई सुरक्षित रहन र प्रशासनको निर्देशन पालना गर्न आग्रह गरिएको छ।

भोटेकोशीमा आएको असामान्य बाढीका कारण तल्लो तटीय क्षेत्रमा जोखिम बढिरहेका बेला प्रशासनले सम्भावित मानवीय क्षति रोक्न पूर्वसावधानीस्वरूप बस्ती स्थानान्तरणलाई तीव्रता दिएको हो।

प्रकाशित: १० भाद्र २०८३ १६:३३ बुधबार