समाज

जेन-जी शहीदकी दिदी सुशीलाको माग– ‘मेरो भाइको नाममा सालिक बनाइयोस्’

पूर्वीया थारु समुदायको महान् पर्व जितिया नजिकिँदै थियो। भदौ २४ गते करिब ११ बजेतिर सुशीला चौधरीलाई भाइ विजयले फोन गर्‍यो। हालखबर सोध्दै जितिया मनाउन र काठमाडौं घुम्न आउन प्रस्ताव गर्‍यो। सुशीलाले जेन-जी आन्दोलन शान्त भएपछि जाने सोच बनाएकी थिइन्। फोनमै उनले विजयलाई आन्दोलनमा नजान र घरमै बस्न आग्रह गरिन्।

तर दिदीभाइबीच कुरा भएको केही घण्टामै अप्रिय खबर आयो। भाइकी श्रीमतीको आत्तिएको स्वरमा फोन आयो, “दिदी, विजयलाई कल गर्दा अर्कै मान्छेले फोन उठाइरहेको छ। उसलाई गोली लागेर सिभिल अस्पताल लगेको छ रे। के गर्ने?” विजयलाई छातीमा गोली लागेको थियो। नयाँ बानेश्वरस्थित संसद् भवनको पछाडि रहेको बेला उनीमाथि गोली प्रहार भएको थियो।

हेटौँडामा बस्दै आएकी सुशीला सोही दिन काठमाडौं जान सक्ने अवस्थामा थिइनन्। भोलिपल्ट विजयका साथीसँग सिभिल अस्पताल पुगिन्। सबै वार्ड खोज्दा पनि विजय भेटिएन। कसैले त्रिवि शिक्षण अस्पताल जान सुझाव दियो। त्यहीँ उनले भोलिपल्ट भाइको शव देखिन्।

घरको सबै जिम्मेवारी विजयले लिएको थियो। जेठो भाइलाई पनि पढाएको थियो। घरको एक्लो खम्बा ढलेको अनुभूति परिवारले गर्‍यो। ऋण लिएर विजयले घर बनाएको थियो। सुशीलाको बिहेमा पनि उसैले आर्थिक सहयोग गरेको थियो।

सिरहा लहान नगरपालिका–१५ का २६ वर्षीय विजय हरिप्रसाद र जलेश्वरीका कान्छा छोरा थिए। काठमाडौंको जडीबुटीमा बस्दै आएका विजय विगत १० वर्षदेखि इलेक्ट्रिसियनका रूपमा काम गर्दै घरको सम्पूर्ण जिम्मेवारी सम्हाल्दै आएका थिए। सामान्य किसान परिवारमा जन्मिएका विजयले घरपरिवार हेर्न प्लस टुपछि पढाइ छोड्नुपरेको थियो। आफू नपढे पनि दाइलाई पढाउने सोचसहित घरको रेखदेख गर्दै दाइ अजयलाई इञ्जिनियरिङ पढ्न सहयोग गरेका थिए।

विजयको निधनपछि चौधरी परिवार शोकमा डुबेको छ। परिवारले अब के गर्ने भन्ने विषयमा सोच्न सकिरहेको छैन। इञ्जिनियरिङ पढाइ सकेर बसेका विजयका दाइ अजय अहिले कामको खोजीमा छन्।

गाउँले र चिनेजानेकाले अजय र विजयलाई सँगै देख्दा दाजुभाइ अनुहारले पनि उस्तै, राम–लक्ष्मणजस्तै मिलेको भन्दै प्रशंसा गर्थे। मीठो बोली र व्यवहारका कारण विजय सबैका प्रिय थिए। परिवारप्रति व्यावहारिक र जिम्मेवार विजय आमाबुवाको आँखाका तारा थिए।

अहिले भाइको कुरा आउँदा अजयलाई बोल्न गाह्रो हुन्छ। मन भारी हुन्छ। उसले कहिल्यै नरोएको मान्छे भए पनि भाइको मृत्युले धेरै रुवाएको छ। विजय हुँदा कुनै तनाव नहुने, अब घरको सहारा नै टुटेको अनुभूति हुन्छ।

अजयले भाइलाई फेरि जीवित देख्न पाए कति राम्रो हुन्थ्यो भन्ने कल्पना गर्छ। विजय सीपयुक्त थियो, राम्रो कमाउँथ्यो, घरको सम्पूर्ण जिम्मेवारी लिएको थियो र आफूलाई पढाएको थियो। आफूले गुमाएको जति अरू कसैले गुमाएको होला कि नहोला भन्ने पीडा उसमा छ।

विजयका आफन्त दाइ अमित चौधरी उनलाई इमान्दार व्यक्ति भनेर सम्झन्छन्। देशका लागि बलिदान दिएको भन्दै सरकारले प्रतिबद्धता गरेका सबै सुविधा उनको परिवारले पाउनुपर्ने माग उनीहरूको छ।

विजयका बुवा दमका रोगी छन्। आमाको स्वास्थ्य अवस्था पनि सन्तोषजनक छैन। घरको एक्लो सहारा रहेका विजय नहुँदा तीन वर्षीया छोरीको भविष्य अन्योलमा परेको छ। सुशीलाले बुहारीलाई रोजगारीको व्यवस्था गर्नुपर्ने, छोरीको उच्च शिक्षा र स्वास्थ्य बिमाको सुनिश्चितता गर्नुपर्ने माग राखेकी छन्।

जेन-जी आन्दोलनमा सहादत प्राप्त गरेका विजय अब सम्झनामा मात्र सीमित छन्। सबै जिम्मेवारी उसैले सम्हालेको थियो भन्ने परिवारको पीडा अझै ताजा छ। ऊ फर्केर नआउने थाहा भए पनि कम्तीमा उसको मृत्यु भएको स्थानमा सरकारले सालिक बनाइदियोस् भन्ने माग परिवारको छ।

प्रकाशित: २७ पुस २०८२ १५:११ आइतबार