कपिलवस्तुको दोश्रो ठुलो भन्सार कार्यालय सुठौलीमा धर्मकाटा निर्माण गरिएको छ ।
छोटी भन्सारबाट स्तरन्नोती भई भन्सार कार्यालय भएको ७ बर्ष पछि बल्ल सुठौली भन्सार कार्यालयमा धर्मकाटा निर्माण गरिएको हो ।
भन्सार कार्यालयको परिसरभित्रै निर्माण गरिएको धर्मकाटाले सय टन क्षमताको मालवाहक सवारी साधनको तौल गर्न सक्ने सुठौली भन्सार कार्यालयका प्रमुख नारायण गैरेले बताए । आउने साउन १ गतेदेखि भन्सार परिसरभित्रै आफ्नै धर्मकाटामा मालवाहक सवारी साधनको तौल गर्ने गरी कार्य अघि बढाइएको प्रमुख गैरेले बताए ।
विगत ३ बर्ष बढीदेखि भन्सारमा धर्मकाटा निर्माणकालागि बजेट विनियोजन भए पनि स्थान लगायतको कारणले निर्माणमा ढिलाई भएको थियो । भन्सारको आफनै धर्मकाटा नहुँदा व्यापारी हबीबुल्लाह मुसलमानको निजी धर्मकाटामा नापतौल गर्ने गरिएको उनले बताए । प्रति गाडी २ देखि ३ सय रुपैयाँ सम्म भाडा सामान ल्याउने व्यापारीले तिर्ने गरेका छन् भन्सारका धर्मकाटा सञ्चालनमा आए पछि त्यो भाडा समेत तिर्न नपर्ने गैरले बताए । आफ्नो कार्यालय परिसरमा भएको धर्मकाटाको आफनै निगरानीमा तौल हुने भए पछि यसले ओभरलोड सहित अन्य समस्याहरू समेत समाधान हुने उनले बताए ।
भन्सारको आफनै धर्मकाटा निर्माण भए पछि व्यापारीहरूलाई सजिलो हुने तौलिहाव उद्योग बाणिज्य संघका अध्यक्ष गयादीन कुर्मीले बताए । नापतौलकोलागि व्यापारी र भन्सारलाई कुनै झन्झट नहुने उनले बताए । धर्मकाटाको गुणस्तर तथा नापतौल कार्यालय बुटवलले समेत अनुगमन गरी इजाजत समेत दिएको छ । शिवम कन्ट्रक्सन कम्पनीले झण्डै ४३ लाख रुपैयाँको लागतमा धर्मकाटा निर्माण गरेको हो । सुठौली भन्सारमा आलु ब्याज, तरकारी, फलफूल, सिमेन्टको भस्कट लगायतको समानहरू भारतबाट आउने गर्दछ ।
प्रकाशित: २६ असार २०८२ १८:१६ बिहीबार