उच्च अदालत बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश दिएलगत्तै ललितपुरस्थित नख्खु कारागार परिसरमा समर्थकहरूको बाक्लो भीड लागेको छ।
बिहीबार साँझपख अदालतको आदेश सार्वजनिक भएपछि रास्वपाका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरू स्वतःस्फूर्त रूपमा कारागारको गेटमा जम्मा हुन थालेका हुन्।
रिहाइको आदेशले उत्साहित बनेका समर्थकहरूले रविको पक्षमा चर्को नाराबाजी गरिरहेका छन्।
कारागार बाहिर भेला भएको भीडले ‘रवि दाइ हाई–हाई’ भन्दै नारा लगाइरहेका छन्।
अदालती प्रक्रिया र समय अभावका कारण लामिछाने आज (बिहीबार) नै रिहा हुने सम्भावना भने कम देखिएको छ। प्रक्रियागत रूपमा लामिछाने सम्भवतः शुक्रबार मात्र छुट्ने कानुनी अवस्था रहे पनि समर्थकहरू खुसी साटासाट गर्न कारागार पुगेका हुन्।
भीड बढ्दै गएपछि नख्खु कारागार वरपरको सुरक्षा व्यवस्था कडा पारिएको छ। सुरक्षाकर्मीहरूले सडक जाम हुन नदिन र भीडलाई व्यवस्थित गर्न प्रयास गरिरहेका छन्।
यो पनि पढ्नुहोस्
रवि आजै रिहा हुने सम्भावना कति ?प्रकाशित: ३ पुस २०८२ १८:१२ बिहीबार



