समाज

विपद् राहत कोषमा किसानदेखि उद्योगीसम्मको सहयोग

भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि सिन्धुलीमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्नेको संख्या बढ्दै गएको छ। जिल्लाका किसानदेखि उद्योगी–व्यवसायी, टोल विकास संस्था, विद्यार्थी तथा विभिन्न संघसंस्थाले स्वस्फूर्त रूपमा रकम सहयोग गरिरहेका छन्।

रसुवासहितका जिल्लामा बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले सिन्धुलीका नागरिकले आफ्नो आर्थिक क्षमताअनुसार रकम कोषमा जम्मा गरेका हुन्। कतिपयले व्यक्तिगत रूपमा सहयोग गरेका छन् भने कतिपयले टोल विकास संस्था, सामाजिक संस्था तथा विभिन्न समूहका माध्यमबाट रकम संकलन गरी कोषमा जम्मा गरेका छन्।

विपद्को घडीमा सहयोग जुटाउने क्रममा किसान, श्रमिक तथा न्यून आय भएका नागरिकले समेत आफ्नो आम्दानीबाट रकम छुट्याएका छन्। उद्योगी–व्यवसायी, विभिन्न संघसंस्था तथा स्थानीय सामाजिक समूहले पनि राहत कोषमा योगदान गरेका छन्। विद्यालयका विद्यार्थी तथा निजी विद्यालय सञ्चालकले समेत रकम संकलन गरी कोषमा सहयोग गरेका छन्।

धमिजा बहुउद्देश्यीय कृषि फर्मका सञ्चालक गोविन्द खड्काले आफूहरू कुखुरा पालक किसान तथा पोल्ट्री फार्म सञ्चालकका रूपमा समेत विपद्मा सहयोगी बन्ने प्रयास गरेको बताए। “फार्म र किसानको तर्फबाट ३ लाख ४० हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छौँ,” उनले भने।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा हालसम्म ४० लाख रुपैयाँभन्दा बढी रकम जम्मा भइसकेको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जानकारी दिइन्। उनका अनुसार सहयोग रकम जम्मा गरेपछि त्यसको भौचरसमेत जिल्ला प्रशासन कार्यालयमा बुझाउने गरिएको छ।

विपद्का बेला समाजका विभिन्न क्षेत्रबाट स्वस्फूर्त रूपमा सहयोग जुट्नुले सामाजिक एकता र मानवीय भावना बलियो रहेको देखाएको प्रशासनले जनाएको छ। विपद् प्रभावित नागरिकलाई तत्काल राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले जिल्लावासीले आफ्नो क्षमताअनुसार योगदान गरिरहेका छन्।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने क्रम अझै जारी रहेको छ। जिल्लाका विभिन्न स्थानबाट व्यक्ति, समूह तथा संस्थाले सहयोग गर्न थालेपछि विपद् प्रभावित नागरिकका लागि राहत तथा पुनर्स्थापनामा थप स्रोत जुट्ने अपेक्षा गरिएको छ।

प्रमुख जिल्ला अधिकारी श्रेष्ठले राहत कोषमा सहयोग गर्ने सबै व्यक्ति, संस्था तथा समूहप्रति धन्यवाद व्यक्त गर्दै इच्छुक व्यक्ति तथा संस्थालाई आफ्नो क्षमताअनुसार सहयोग जारी राख्न आग्रह गरिन्।

यसैबीच, भोटेकोशी बाढीमा परी सिन्धुलीका ४५ जना बेपत्ता भएको जनाइएको छ।

प्रकाशित: २५ भाद्र २०८३ १७:४४ बिहीबार