समाज

बर्दियाका उखु किसान आन्दोलन, प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान माग

सरकारले उखु किसानलाई उपलब्ध गराउनुपर्ने प्रतिक्विन्टल ७० रुपैयाँका दरले अनुदान रकम हालसम्म भुक्तानी नगरेको भन्दै बर्दियाका उखु किसान आन्दोलनमा उत्रिएका छन्।  

सरकारले घोषणा गरेको अनुदान समयमै नपाएको तथा अन्य जिल्लाका किसानले अनुदान सुविधा प्राप्त गरिसक्दा पनि बर्दियाका किसानलाई बेवास्ता गरिएको भन्दै उनीहरूले आन्दोलन सुरु गरेका हुन्।  

किसानहरूका अनुसार सरकारले उखुको मूल्य निर्धारण गर्दा प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिने प्रतिबद्धता जनाएको थियो। तर हालसम्म उक्त रकम नपाएपछि आन्दोलन गर्न बाध्य भएको उनीहरूको भनाइ छ। बर्दियाका किसानलाई सुविधा नदिइएको भन्दै सरकारसँग अनुदान माग गरिएको छ।  

बर्दिया उद्योग वाणिज्य सङ्घ, राजापुरका अध्यक्ष कृष्ण रेग्मीले कृषि मन्त्रालयका सचिवको भनाइ उद्धृत गर्दै धान क्षेत्र भन्दै उखु खेतीमा रोक लगाइएको बताएका छन्।  

यसै क्रममा उखु किसानहरूले बुधबार प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाललाई ज्ञापनपत्र समेत बुझाएका छन्। 

प्रकाशित: ३ असार २०८३ १७:१० बुधबार