समाज

सुदन गुरुङले क्लिन चिट पाउँछन्, उनै फेरि गृहमन्त्री बन्छन्: प्रसाईं

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पूर्व गृहमन्त्री सुदन गुरुङमाथि भइरहेको छानबिनलाई केवल औपचारिकताका लागि मात्र भएको बताएका छन्।

शनिबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले गुरुङले सफाइ पाउने र पुनः शक्तिमा फर्किने दाबी गरे।

प्रसाईंले वर्तमान छानबिन प्रक्रियामाथि संशय व्यक्त गर्दै भने, ‘यो सबै उनलाई सफाइ दिनका लागि गरिएको प्रपञ्च हो। सुदन गुरुङले क्लिन चिट पाउँछन् र फेरि उनै गृहमन्त्री बनेर आउँछन्।’

उनले सुकुम्वासीका घरमा डोजर चल्दाचल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताको घर पुगेपछि रोकिएको उदाहरण दिँदै कानुनी कारबाहीमा विभेद भइरहेको आरोप समेत लगाए।

प्रधानमन्त्री बालेन शाहको कार्यशैलीप्रति असन्तुष्टि पोख्दै प्रसाईंले नक्साको राजनीतिभन्दा भूमि फिर्ताको ठोस पहल हुनुपर्नेमा जोड दिए। मेयर हुँदा बालेनले ग्रेटर नेपालको नक्सा राखेको प्रसङ्गमा उनले भने, ‘बालेन जी, अध्यादेश नै ल्याउने भए १० हजार सेना लिम्पियाधुरा र लिपुलेक पठाउँछु भनेर ल्याउनुस्, जनताले त्यसलाई समर्थन गर्छन्।’

धोबीखोलाका सुकुम्वासी बस्तीमा नामावली संकलन गर्न सेना पठाउनुभन्दा सीमा रक्षामा ध्यान दिन उनले सुझाव दिए।

आफूलाई देशको एक जिम्मेवार नागरिकका रूपमा प्रस्तुत गर्दै प्रसाईंले राज्यलाई वार्षिक ५० करोड रुपैयाँ कर बुझाउने गरेको र ५ हजार मानिसलाई रोजगारी दिएको दाबी गरे।

‘म यिनीहरू जस्तो फिरङ्गी होइन, म त ५ हजार नेपालीलाई रोजगारी दिने र राज्यलाई ठुलो कर तिर्ने मान्छे हुँ,’ उनले जिकिर गरे। उनले केपी शर्मा ओलीको पालामा नक्सामा समेटिएको नेपाली भूमि फिर्ता ल्याउने जिम्मेवारी अहिलेको नेतृत्वको भएको बताए।

छिमेकी मुलुक भारतले चिनी र मल आयातमा गरेको कडाइका कारण नेपाली किसानहरू मर्कामा परेको भन्दै उनले परनिर्भरताको आलोचना गरे। वर्तमान राजनीतिक र प्रशासनिक कार्यशैली नबदलिए देश विलयको बाटोमा जान सक्ने भन्दै उनले चिन्ता व्यक्त गरे।

सञ्चारकर्मीहरूसँगको संवादमा उनले पटक-पटक नेतृत्वको असफलता र देशको बिग्रँदो अवस्थाका बारेमा आफ्नो धारणा दोहोर्‍याए।

प्रकाशित: २ जेष्ठ २०८३ १५:०२ शनिबार