समाज

सर्लाहीमा सव-इन्जिनियरमाथि गोली प्रहार

सर्लाहीमा एक जना सव-इन्जिनियरमाथि गोली प्रहार भएको छ। सर्लाही सदरमुकाम मलंगवा नगरपालिका-१० मा आइतबार साँझ सव-इन्जिनियरमाथि गोली प्रहार भएको हो।

मलंगवास्थित पूर्वाधार विकास कार्यालयमा कार्यरत सव-इन्जिनियर प्रमोदकुमार यादवमाथि अपरिचित समूहले गोली प्रहार गरेको हो। यादवको देव्रे छातीमा गोली लागेको प्रहरीले जनाएको छ।

गोली प्रहारबाट घाइते यादवको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपि सरोज राईले बताएका छन्।  

मलंगवा नपाको वडा नम्बर १० मा डेरा रहेका उनी सिराहाको सुखीपुर निवासी हुन्।

घटनाबारे अनुसन्धान भइरहेको तथा सदरमुकाम मलंगवाको सुरक्षा व्यवस्था कडा पारिएको डिएसपि राईको भनाइ छ।

प्रकाशित: ३ फाल्गुन २०८२ २१:०९ आइतबार