समाज

शिक्षक माग गर्दै अनसनमा विद्यार्थी

लामो समयदेखि शिक्षक नहुँदा पठनपाठन नभएकाले तत्काल व्यवस्था गर्न माग गर्दै धरानका दुई वटा स्कुलका विद्यार्थीहरू नगरप्रमुखको कार्यकक्ष अगाडि आमरण अनसनमा बसेका छन्।

धरान वडा नं. ६ को सरस्वती माध्यमिक विद्यालय र वडा नं. ११ को ज्ञानोदय माध्यमिक विद्यालयका विद्यार्थीहरू अनसनमा बसेका हुन्।

उनीहरूले बिहीबारदेखि अनसन थालेका हुन्। आज दिनभरमा माग पुरा नगरे नगर प्रमुख, कार्यकारी प्रमुखलगायतको कार्यकक्षमा पनि तालाबन्दी गर्ने घोषणा गरेका छन्।

विद्यार्थीहरूको माग पुरा गर्न दबाब दिँदै धरान उपमहानगरपालिका क्षेत्रका विभिन्न वडाका वडाध्यक्ष र सदस्यहरूले पनि शुक्रबार कार्यकारी प्रमुख तीर्थराज राईमार्फत कार्यवाहक प्रमुख अइन्द्रविक्रम बेघालाई ध्यानाकर्षण पत्र बुझाए।

सरस्वती माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत छात्र निर्जल भण्डारीका अनुसार माघ २० गतेदेखि माध्यमिक तहमा शिक्षण गर्ने सामाजिक शिक्षक नहुँदा पढाई नै भएको छैन।

अघिल्लो शैक्षिक सत्रका विद्यार्थीले केही कोर्स बाँकी रहँदै परीक्षा दिएता पनि चालु शैक्षिक सत्रमा पढाई नै नभएको उनले बताए। माघ २० गतेदेखि शिक्षक गंगाप्रसाद धमला रिटायर भए पनि सामाजिक शिक्षक अभाव भएको हो।

यस्तै, ज्ञानोदयमा विगत तीन वर्षदेखि माध्यमिक तहको नेपाली शिक्षक नहुँदा विद्यार्थीको पढाई प्रभावित हुँदै आएको छ।

ज्ञानोदयका विद्यार्थीहरूले शिक्षक अभावसँगै विद्यालयमा खानेपानी, शौचालय र कम्प्युटर ल्याब जस्ता आधारभूत पूर्वाधारको समेत अभाव रहेको बताएका छन्।

यी दुवै विद्यालयमा अढाई वर्षअघि विद्यालय व्यवस्थापन समिति गठन भएको र दुवैमा विवाद भएर अदालतसम्म मुद्दा परे राजनीति हुँदा समस्या भएको धरान उपमहानगरपालिका शिक्षा शाखा प्रमुख धुव्र खड्काले बताए।

कार्यकारी प्रमुख राईले विद्यार्थीका माग जायज भएकाले तत्काल पुरा हुने बताए। उनका अनुसार बिहीबार राति नै सहमति गर्ने तयारी भए पनि विद्यार्थीहरूले कार्यवाहक नगरप्रमुख अइन्द्र विक्रम बेघासँग पनि भेट गर्ने इच्छा गरे पनि ढिलाइ भएको हो। 

कार्यवाहक प्रमुख बेघकाले भने विद्यार्थीहरूलाई तेस्रो पक्षले उक्साएको बताउँदै आएका छन् ।

प्रकाशित: ९ आश्विन २०८३ १४:५४ शुक्रबार