समाज

तुइन र गाडीमा झुन्डिँदै जोखिमपूर्ण यात्रा गर्न बाध्य विद्यार्थी

उत्तरगया गाउँपालिका–५ स्थित नीलकण्ठ माध्यमिक विद्यालयमा अध्ययनरत ३३ जना विद्यार्थी हरेक दिन ज्यानलाई जोखिममा राखेर विद्यालय पुग्न बाध्य छन्।

यातायातको असुविधा र चुनौतीपूर्ण भौगोलिक अवस्थाका कारण उनीहरूले खोला तर्ने, गाडीमा झुन्डिने र तुइनमा वारपारको सास्ती खेप्नुपरेको हो।

उक्त विद्यालयकी शिक्षिका रन्जना थापा भन्छन्, ‘भोटेकोशी बाढीपछि शान्तिबजार र पैरेबेँसीबाट आउने विद्यार्थीले दैनिक रूपमा त्यस्तै कष्टपूर्ण यात्रा तय गर्दै विद्यालय आइपुग्ने गरेका छन्।’

दैनिक रूपमा उनीहरुले सलाखु खोला तरेर करिब एक घण्टा पैदल हिँड्छन् अनि गाडीको पछाडि जोखिमपूर्ण रूपमा झुन्डिएर त्रिशूली किनारको कोलोनीसम्म आइपुग्ने गरेका छन्।

ती विद्यार्थीको दुःख यतिमा मात्रै सीमित छैन, त्यसपछि तुइनको सहारामा उनीहरु उर्लँदो त्रिशूली नदी पार गरेर ढुङ्गे बजार पुग्ने दैनिकी छ।

ढुङ्गे बजारबाट पुनः माइक्रोबस चढेर आङ्गिटार पुग्ने ती विद्यार्थी सिहाले गाउँको आधा घण्टाको उकालो पैदलपछि मात्र बेत्रावती आइपुग्छन्।

अनि त्यहाँको फड्के तरेर थप २० मिनेट उकालो हिँडेपछि मात्र उनीहरू विद्यालय पुग्छन्। विद्यार्थीको बनेको पछिल्लो दैनिकी भोटेकोशी बाढीले त्यहाँका विद्यार्थीलाई दिएको सास्तीको नमूनाका रूपमा रहेको छ।

ती विद्यार्थीले खेप्नुपरेको सास्ती, थकाइलाग्दो र जोखिमपूर्ण यात्रा स्वयं शिक्षक र शिक्षिकाका लागि एउटा कथाजस्तै बनेको छ। तर त्यो दन्ते कथा नभई भोटेकोशी बाढीले उत्पन्न गरेको बास्तविकता हो शिक्षिका थापा भन्छन्।

शिक्षा आर्जनका लागि दैनिक रूपमा यति ठूलो जोखिम मोल्नुपर्ने बाध्यतालाई तीन तहका सरकारले समयमै मनन गरी सम्बोधनका लागि ठोस कदम चाल्न उनको सुझाव छ।

प्रकाशित: १४ आश्विन २०८३ १३:४५ बुधबार