समाज

मधेस प्रदेशका सबै जिल्लामा सरकारी सवारी साधन सञ्चालनमा कडाइ

मधेस प्रदेश सरकारले प्रदेशभर बढ्दो सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सबै जिल्लामा सरकारी सवारी साधनको प्रयोगमा कडाइ गरेको छ। 

गृह, सञ्चार तथा कानुन मन्त्रालयले प्रदेशअन्तर्गतका सबै सरकारी कार्यालयलाई पत्राचार गर्दै अत्यावश्यक सरकारी कामबाहेक अन्य कुनै पनि प्रयोजनका लागि सरकारी सवारी साधन प्रयोग नगर्न निर्देशन दिएको हो। 

मन्त्रालयका अधिकृत राधेशंकर प्रसाद पन्तद्वारा जारी पत्रमा हालको सुरक्षा अवस्थालाई दृष्टिगत गर्दै सरकारी सवारी साधनको सुरक्षित व्यवस्थापन गर्न तथा अनावश्यक रूपमा सञ्चालन नगर्न आग्रह गरिएको छ।  

पत्रमा भनिएको छ, ‘कार्यालय प्रयोजनका लागि उपलब्ध सरकारी सवारी साधनहरूको हालको सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी अत्यावश्यक सरकारी कामबाहेक अन्य प्रयोजनमा प्रयोग नगर्नरनगराउन तथा सवारी साधनको सुरक्षित व्यवस्थापन गराउन आदेशानुसार अनुरोध छ।’  

पछिल्ला दिनहरूमा मधेश प्रदेशका केही जिल्लामा उत्पन्न तनावपूर्ण अवस्थाका कारण सुरक्षा निकाय उच्च सतर्कतामा रहेका बेला प्रदेश सरकारले सरकारी सम्पत्ति र कर्मचारीको सुरक्षालाई प्राथमिकतामा राख्दै यस्तो निर्देशन जारी गरेको हो। 

प्रकाशित: १४ श्रावण २०८३ १५:४३ बिहीबार