बीपी राजमार्ग आसपासका होटल तथा रेस्टुरेन्टमा अनुगमन कडा पारिएसँगै खानाको गुणस्तर र सरसफाइमा सुधार हुन थालेको छ। चाडपर्वका बेला राजमार्गमा सवारीसाधन र यात्रुको चाप बढ्ने भएकाले यात्रुलाई स्वच्छ, सुरक्षित र गुणस्तरीय खाना उपलब्ध गराउने उद्देश्यले सम्बन्धित निकायले अनुगमनलाई तीव्रता दिएका हुन्। अनुगमनसँगै होटल व्यवसायी पनि आफ्नो सेवा र खानाको गुणस्तर सुधार गर्न सक्रिय हुन थालेका छन्।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, उद्योग, वाणिज्य, पर्यटन तथा यातायात कार्यालयलगायत निकायले राजमार्ग आसपासका होटल तथा रेस्टुरेन्टमा नियमित अनुगमन गरिरहेका छन्। अनुगमनका क्रममा खाद्य पदार्थको गुणस्तर, भान्छाको सरसफाइ, खाना पकाउने तथा भण्डारण गर्ने तरिका, मूल्यसूची र उपभोक्तालाई उपलब्ध गराइने सेवाको अवस्थाबारे निरीक्षण गर्ने गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सिन्धुलीका प्रमुख दिनेश घिमिरेले जानकारी दिए।
राजमार्गका होटलमा सरसफाइ र खानाको गुणस्तर कमजोर पाइए कडा कारबाही हुने चेतावनीपछि व्यवसायी पनि सुधारमा जुटेका छन्। यात्रुलाई स्वच्छ र गुणस्तरीय खाना उपलब्ध गराउने, भान्छा सफा राख्ने, खाद्य सामग्री सुरक्षित रूपमा भण्डारण गर्ने तथा निर्धारित मापदण्ड पालना गर्ने कामलाई प्राथमिकता दिइएको व्यवसायी बताउँछन्।
पछिल्लो समय राजमार्गका होटलमा गुणस्तरीय खाना नपाइने गुनासो बढ्दै जाँदा होटलमा खाना खाने यात्रुको संख्या घटेको र त्यसको असर समग्र व्यवसायमा परेको व्यवसायीको भनाइ छ। केही होटलको कमजोरीका कारण सबै व्यवसायीको छवि प्रभावित हुने भएकाले खानाको गुणस्तर र सेवामा सुधार गर्न आवश्यक रहेको उनीहरू बताउँछन्।
पूर्वी तथा मध्य तराईलाई राजधानी काठमाडौंसँग जोड्ने महत्त्वपूर्ण सडक बीपी राजमार्गमा दैनिक ठूलो संख्यामा सवारीसाधन सञ्चालन हुने गर्छन्। चाडपर्वका समयमा घर जाने र फर्किने यात्रुको चाप बढ्दा राजमार्ग आसपासका होटलमा ग्राहकको संख्या पनि बढ्छ। यस्तो अवस्थामा यात्रुले अस्वस्थकर वातावरणमा खाना खानुपर्ने, गुणस्तरहीन खाद्य पदार्थ उपभोग गर्नुपर्ने र मनपरी मूल्य तिर्नुपर्ने समस्या हुन सक्ने भएकाले अनुगमनलाई प्रभावकारी बनाइएको उद्योग, वाणिज्य, पर्यटन तथा यातायात कार्यालय सिन्धुलीका प्रमुख विष्णुकुमार भट्टराईले बताए।
उनका अनुसार बीपी राजमार्गअन्तर्गत चियाबारी, खनियाखर्क, खुर्कोट र मुलकोटका होटलमा निरन्तर अनुगमन भइरहेको छ। अनुगमनका क्रममा कैफियत भेटिएका होटल सञ्चालकलाई नगद जरिवानासमेत गरिएको छ।
मापदण्डविपरीत सञ्चालन भएका होटललाई आवश्यक सुधार गर्न निर्देशन दिने, खाद्य स्वच्छतासम्बन्धी मापदण्ड पालना गराउने र गम्भीर कैफियत भेटिए प्रचलित कानुनअनुसार कारबाही गर्ने गरिएको भट्टराईले जानकारी दिए। नियमित अनुगमनले व्यवसायीलाई जिम्मेवार बनाउनुका साथै यात्रुको स्वास्थ्य सुरक्षा र उपभोक्ताको हित संरक्षणमा सहयोग पुग्ने उनको भनाइ छ।
प्रकाशित: १२ कार्तिक २०८३ २०:०१ बिहीबार