सप्तरीको शम्भुनाथ नगरपालिका ३ मा दुई वर्षीया बालिकाको हत्या गरेको आरोपमा प्रहरीले उनकी सौतेनी आमालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार आइतबार बिहान करिब १०ः३५ बजे घरबाट हराएकी बालिका करिब दुई घण्टापछि घर पछाडिको झाडीमा मृत अवस्थामा फेला परेकी थिइन्। बालिका हराएको जानकारी पाएपछि परिवार र स्थानीयले खोजी गर्दा झाडीमा शव भेटिएको थियो।
घटनाबारे मृतककी आमा रुबिना खातुनले दिएको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा शम्भुनाथ नगरपालिका २ कन्कपट्टी टोल घर भई हाल वडा नम्बर ३ ट्राफिक बजारमा बस्दै आएकी मुस्कान भनिने जास्मिन खातुनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेकी जास्मिन मृतक बालिकाका बुबा मोहम्मद इरफानकी कान्छी पत्नी हुन्। प्रारम्भिक सोधपुछका क्रममा उनले बालिकाको हत्या आफूले गरेको स्वीकार गरेको प्रहरीको भनाइ छ।
प्रकाशित: ९ भाद्र २०८३ १५:५७ मंगलबार