समाज

काठमाडौंका सार्वजनिक जग्गामा ‘स्पोर्टस पार्क’ बन्छ : बालेन

काठमाडौं महानगरपालिकाले वडा नं १० देवीनगरस्थित धोबीखोला करिडोरको अतिक्रमणमा परेको सार्वजनिक जग्गा फिर्ता लिएर ‘स्पोर्ट्स पार्क’ निर्माण गर्ने योजना अघि बढाएको छ।  

महानगरपालिकाका मेयर बालेन शाहले सार्वजनिक जग्गालाई सर्वसाधारणको पहुँचमा ल्याउने अभियान निरन्तर दिएको बताएका छन्।  

काठमाडौं महानगरका अनुसार ५ रोपनी १० आना २ दाम क्षेत्रफलको यो जग्गा व्यक्तिगत उपभोगमा रहेको थाहा पाएपछि २०८० साउन ४ गते महानगर प्रहरी बलले अतिक्रमणमुक्त गराएको थियो।

मेयर शाहले भनेका छन्, ‘जग्गा भोगचलन गरिरहनु भएकी पूर्वमन्त्री भद्राकुमारी घलेले महानगरपालिकाको सार्वजनिक जग्गा खाली गराउने अभियानमा सहयोग गर्दै संरचना भत्काउन सहयोग गर्नुभएको थियो। उहाँका सामान स्थानान्तरण गर्न महानगर प्रहरी बलले सहयोग गरेको थियो।’

अतिक्रमित जग्गालाई सार्वजनिक उपयोगमा ल्याउने योजनामा महानगरपालिकाले २ हजार ८८० वर्गमिटर क्षेत्रफलमा स्पोर्टस पार्क निर्माण गर्ने योजना गरिहेको छ।    

भ्याट र पीएसबाहेक करिब १ करोड ९० लाख लगानीमा निमार्ण गरिने पार्क २०८३ कार्तिक १८ गतेसम्म निमार्ण कार्य सम्पन्न गर्ने काठमाडौं महानगरपालिकाले जनाएको छ।

प्रकाशित: ४ मंसिर २०८२ ०८:५२ बिहीबार