समाज

त्रिभुवन विमानस्थलमा यात्रुका लागि विशेष ट्रली सेवा सञ्चालन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा यात्रु सेवालाई सहज, सुरक्षित र आरामदायी बनाउने उद्देश्यले विशेष ट्रली सेवा सञ्चालनमा ल्याइएको छ।

विमानस्थलको आन्तरिक प्रस्थान कक्ष तथा आगमन क्षेत्रमा सञ्चालन गरिएको यस सेवाबाट विशेषगरी ज्येष्ठ नागरिक, गर्भवती महिला, शारीरिक रूपमा असहज अवस्था भएका यात्रु तथा धेरै वा गह्रौँ सामान बोकेका यात्रु लाभान्वित हुनेछन्।

विमानस्थलका अनुसार ट्रली सेवाका नाममा कसैले रकम माग गरेमा वा यस सेवासहित अन्य सेवासम्बन्धी कुनै गुनासो तथा समस्या भएमा यात्रुहरूले आन्तरिक टर्मिनलका ड्युटी अफिसरको सम्पर्क नम्बर ०१(४११३२९९ मा सम्पर्क गरी जानकारी गराउन सक्नेछन्।

यात्रुमैत्री सेवा विस्तार गर्ने उद्देश्यले सुरु गरिएको यस सेवालाई यात्रुहरूको आवश्यकता, सुझाव तथा उपलब्ध स्थानका आधारमा थप व्यवस्थित र विस्तार गर्दै लगिने विमानस्थलले जनाएको छ।

प्रकाशित: १० मंसिर २०८३ १८:२४ बिहीबार