समाज

साइबर सुरक्षाका लागि केही सरकारी वेबसाइट बन्द

साइबर सुरक्षामा जोखिम देखिएपछि नेपाल सरकारले केही सरकारी वेबसाइट तथा प्रणाली अस्थायी रूपमा बन्द गरेको छ। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रका अनुसार पीएचपी प्रविधिमा गम्भीर सुरक्षा कमजोरी भेटिएपछि सम्भावित साइबर आक्रमण रोक्न यस्तो कदम चालिएको हो।

बुधबार सार्वजनिक भएका दुई सुरक्षा जोखिमका कारण आक्रमणकारीले प्रयोगकर्ताको अनुमति वा लगइनबिनै प्रभावित सर्भरमा कोड चलाउन सक्ने खतरा छ।

जोखिम सार्वजनिक भएपछि सरकारी निकायका प्राविधिक टोलीले सुरक्षा सुधारको काम थालेका छन्। केन्द्रका अनुसार केही प्रणालीमा सुरक्षा सुधार गरी पुनः सञ्चालनमा ल्याइसकिएको छ। बाँकी प्रणालीमा पनि सुरक्षा परीक्षण र सुधार पूरा भएपछि क्रमशः सञ्चालनमा ल्याइनेछ।

दसैं बिदाका बेला प्रणाली बन्द गरिएकाले सरकारी कामकाजमा असर नपरेको केन्द्रले जनाएको छ। सबै महत्वपूर्ण प्रणालीलाई सुरक्षा सुधारपछि दसैं बिदा सकिनुअघि पुनः सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।

प्रकाशित: ५ कार्तिक २०८३ १४:१९ बिहीबार