रौतहटसँग सीमा जोडिएको नेपाल–भारत क्षेत्रमा शंकास्पद गतिविधि गरिरहेको अवस्थामा एक जना सोमालियाली नागरिकलाई भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले नियन्त्रणमा लिएको छ ।
एसएसबीको २०औँ बटालियन भंगहा टोलीले सोमबार साँझ भारतको बिहारस्थित मोतिहारी जिल्लाको बैधनाथपुर क्षेत्रबाट सोमालियाली नागरिक काफी अली उर्फ हासी अलीलाई नियन्त्रणमा लिएको हो ।
भारतको बैधनाथपुर गाउँ नेपालको रौतहटस्थित इशनाथ नगरपालिकासँग जोडिएको सीमावर्ती क्षेत्र हो । एसएसबी स्रोतका अनुसार अली भारतीय बजार घोडासहनबाट बस चढेर बैधनाथपुर गाउँ पुगेका थिए ।
सीमावर्ती क्षेत्रमा उनको गतिविधि अस्वाभाविक देखिएपछि भारतीय सुरक्षा टोलीले निगरानी बढाएको थियो । निगरानीकै क्रममा उनी नेपालतर्फ प्रवेश गर्ने तयारीमा रहेको आशंकामा नियन्त्रणमा लिइएको बताइएको छ ।
पक्राउ परेका अलीको साथबाट २५ हजार भारतीय रुपैयाँ नगद, मोबाइल फोन, माइक्रोफोन लगायतका सामग्री बरामद भएको भारतीय सुरक्षा स्रोतले जनाएको छ ।
भारतीय सुरक्षा निकायले उनको गतिविधि र नेपाल प्रवेशको सम्भावित उद्देश्यबारे अनुसन्धान अघि बढाएको श्रोतले जनाएको छ ।
सुरक्षा अधिकारीहरूले अलीको राहदानी, यात्रा कागजात, भारत प्रवेशको विवरण, पहिचानसम्बन्धी कागजात तथा सीमावर्ती क्षेत्रमा हुन सक्ने स्थानीय सम्पर्कबारे समेत जाँच गरिरहेका छन् ।
भारत–नेपाल खुला सीमाको संवेदनशीलतालाई ध्यानमा राख्दै विदेशी नागरिक सीमावर्ती क्षेत्रमा शंकास्पद अवस्थामा भेटिएपछि भारतीय सुरक्षा निकायले घटनालाई गम्भीर रूपमा लिएको छ । घटनापछि रौतहटसँग जोडिएको भारत–नेपाल सीमाक्षेत्रमा सुरक्षा निगरानीसमेत थप कडा पारिएको बताइएको छ ।
पक्राउ परेका सोमालियाली नागरिकमाथि भारतीय कानुन अनुसार कारबाही हुनुका साथै उनको वास्तविक उद्देश्यबारे अनुसन्धान पूरा भएपछि मात्रै थप विवरण सार्वजनिक गरिने सुरक्षा स्रोतले जनाएको छ ।
सीमावर्ती क्षेत्रमा तेस्रो मुलुकका नागरिकको आवागमन र अवैध प्रवेशको सम्भावना सुरक्षा दृष्टिले संवेदनशील मानिने भएकाले उक्त घटनालाई भारतीय र नेपाली सुरक्षा निकाय बीचको समन्वयका दृष्टिले समेत चासोका साथ हेरिएको छ।
प्रकाशित: २ भाद्र २०८३ १९:१८ मंगलबार