समाज

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णालीका हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा जनजीवन प्रभावित भएको छ। माथिल्लो कर्णालीका हुम्ला, मुगु, जुम्ला, डोल्पा र कालीकोटका उच्च भागमा हिमपात भएको हो। 

डोल्पाको शे फोक्सुण्डो, डोल्पो बुद्ध र छार्का ताङसोङ गाउँपालिकामा हिमपात हुनुका साथै हुम्लाको नाम्खा, मुगुको मुगुम कार्मारोङ, जुम्लाको पातारासी, तातोपानी र कनकासुन्दरी गाउँपालिका तथा कालीकोटको तिलागुफा नगरपालिकामा पनि हिमपात भइरहेको स्थानीयले बताएका छन्। 

जिल्ला प्रशासन कार्यालय डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार तल्लो डोल्पामा वर्षा र माथिल्लो डोल्पाका शे फोक्सुण्डो, डोल्पो बुद्ध र छार्का ताङसोङ गाउँपालिकामा हिमपात भइरहेको छ। माथिल्लो डोल्पामा कात्तिक १२ गतेदेखि सबै पदयात्रीलाई जान रोक लगाइएको छ। त्यहाँ पुगेका पदयात्रीको अवस्थाबारे सूचना लिने काम भइरहेको छ। 

विपद्को जोखिम आकलन गरी सम्भावित क्षति रोक्न कमाण्ड पोष्टको बैठक बसेर जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र, सुरक्षा निकाय, स्वास्थ्य, खानेपानी, पूर्वाधार विकास कार्यालय, स्थानीय आपत्कालीन कार्य सञ्चालन केन्द्रलगायत सरोकार भएका निकायसँग समन्वय गरिएको प्रमुख जिल्ला अधिकारी हमालले बताइन्। उनका अनुसार उद्धार तथा राहतका लागि सबै निकाय तयारी अवस्थामा छन्। 

जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी पोषनराज भण्डारीले शुक्रबार बेलुका ५ बजेदेखि मध्यम खालको वर्षा निरन्तर भइरहेको बताए। वर्षाका कारण पहिरो जाने खतरा रहेकाले आजका लागि सवारी आवागमन रोक्न प्रहरी परिचालन गरिएको उनले जानकारी दिए। 

मुगुमा टेलिफोन नेटवर्क र प्रहरी सञ्चार सेवा राम्रोसँग सञ्चालन नभएको बताउँदै भण्डारीले जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेर जोखिमपूर्ण घटना भए समाधान तथा उद्धारका लागि सरोकार भएका निकायलाई तयारी अवस्थामा रहन समन्वय गरिएको बताए। 

जिल्ला प्रशासन कार्यालय हुम्लाका प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईले हिमपातका कारण नाम्खा गाउँपालिकाको हिल्सा, लिमी र लाप्चा जाने बाटो बन्द भएको जानकारी दिए। वर्षा र हिमपातका कारण जोखिममा रहेका क्षेत्रका बासिन्दालाई तीन दिनयता सुरक्षित स्थानमा व्यवस्थापन गरिएको उनले बताए। 

कमाण्ड पोष्टको बैठकबाट सुरक्षा निकाय, रेडक्रस, स्वास्थ्य, खानेपानी र स्थानीय तहलगायत सरोकार भएका निकायलाई खोज तथा उद्धारका लागि तयारी अवस्थामा रहने निर्णय गरिएको गुरागाईले जानकारी दिए।  

रासस 

प्रकाशित: १४ कार्तिक २०८३ १५:२७ शनिबार