समाज

हिमपातले उपल्लो मुस्ताङसँगको सम्पर्क टुट्यो

मुस्ताङको लोमान्थाङमा परेको हिउँले सेताम्य भएको क्षेत्र ।

हिमपातले उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रसँग सदरमुकामको सम्पर्क पूर्णरुपमा टुटेको छ । बाक्लो हिमपातले अहिले कागबेनीबाट माथि जाने अवस्था नरहेको स्थानीय प्रशासनले बताएको छ । मुक्तिनाथ क्षेत्रसम्मको आउजाउ समेत सकसपूर्ण बनेको प्रशासनको भनाई छ ।  

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङका प्रमुख उमेश पौडेलका अनुसार लोमान्थाङ क्षेत्रमा बाक्लो हिउँ जमेको छ । घरको छानोमा करिब २ फिटसम्म हिउँ जमेको उनले बताए । ‘घाम लागेको भएपनि आउजाउ सहज छैन । हिउँ पग्लिन पाएको छैन । घाम लागेको भएपनि हिउँ पग्लिन अझै केहीदिन लाग्छ,’ उनले भने, ‘बाटोमा पनि डेढफिट सम्म बाक्लो हिउँ जमेको छ ।’

जाडो छल्न माथिल्लो भेगका बासिन्दा अहिले पोखरा क्षेत्रमा झरेकोले लोमान्थाङ क्षेत्रमा चहलपहल पनि निकै नै कम रहेको उनले बताए । यो बेला लोमान्थाङ क्षेत्रमा जम्मा ५० जनाजति नागरिक रहेको पनि उनले बताए । ‘अधिकांश गाउँले चिसो छल्न तल झरेसँगै यसै पनि सुनसान थियो । त्यसैमा हिउँ परेपछि झनै सुनसान हुने नै भयो,’ उनले भने । उनका अनुसार अहिले पर्यटकको सिजन नभएकोले विदेशी तथा स्वदेशी पर्यटक पनि माथि उक्लिएका छैनन । अधिकांश बासिन्दा जाडो छल्न तल झरेको बेला घर कुर्न बसेका बाहेक अरु नरहेको उनले सुनाए ।  

‘घरको छतमा जमेको हिउँ त मान्छेले फालिरहेका छन । बाटोको पनि हिउँ पन्छाएर हिडडुल भईरहेको छ । तर, गाडी चल्ने अवस्था भने रहन्न,’ पौडेलले भने । उनका अनुसार जाडो छल्न तल झरेका सर्वसाधारणहरु फागुन लागेपछि मात्र गाउँ फर्किने गर्छन । यो बेला चुनावी गतिविधि हुनुपर्ने भएपनि हिउँ परेको र मतदाता नै गाउँमा नभएपछि चुनावी गतिविधि पनि माथिल्लो क्षेत्रमा हुन नसकेको उनले सुनाए ।  

मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी एकनारायण भण्डारीका अनुसार कागबेनी–लोमान्थाङ सडक पूर्ण रुपमा अवरुद्ध रहेका छ । कागबेनीबाट मुक्तिनाथ सम्मको सडक समेत सहज हुन नसकेको उनले बताए । ‘मुक्तिनाथसम्मको सडक संचालनमा आउन सक्ने अवस्था छ । किनकी हिउँ पन्छाएर आउजाउ गराउने प्रयास भईरहेको छ । तर, लोमान्थाङ क्षेत्रको हिउँ भने पन्छाएर सकिने अवस्था छैन ।’ उनका अनुसार सुरक्षाकर्मी र उपकरण प्रयोग गरेर मुक्तिनाथसम्मको सडक खुलाउने प्रयास भईरहेको छ ।  

‘कागबेनी–लोमान्थाङ सडक भने अहिले खुलाउन सकिने अवस्था छैन । किनकी दूरी पनि बढी छ । हिउँ हटाएर बाटो खुलाउने भन्ने रहन्न,’ सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले भने, ‘घाम लाग्न थालेकोले हिउँ पग्लेपछि भने आउजाउ सुरु हुनेछ । तर, हिउँ पग्लिन अझै केहीदिन लाग्नेछ ।’

बाक्लो हिमपातका कारण माथिल्लो क्षेत्रमा चुनावी गतिविधि पनि हुन सक्ने अवस्था तत्कालका लागि नरहेको उनले बताए । मतदाताहरु जाडो छल्न तल झरेकोले पनि माथिल्लो क्षेत्र सुनसान रहेको भण्डारीले बताए । ‘मतदाता पनि छैनन । चिसो छल्न पोखरा, काठमाडौं गएकोले चुनावी माहोल तातेको छैन । उम्मेदवार पनि चुनावी भेटघाट गर्नका लागि पोखरा र काठमाडौं सहितका सहरी क्षेत्रमा सक्रिय रहेका छन । माथिल्लो क्षेत्रमा तत्काल आउजाउ पनि सम्भव छैन,’ उनले भने ।  

प्रकाशित: १५ माघ २०८२ १९:३३ बिहीबार