समाज

सीमादेखि सहरसम्म तस्करको रजगज

सिरहाको ठाढी नाका क्षेत्रको मरिक टोल भएर नियमित आउजाउ गर्ने सुरेश साह रुखमुनि सुस्ताइरहेको अवस्थामा भेटिए। उनलाई नाकाको हालखबर सोधियो। सुरुमा उनी खुल्नै चाहेनन्। बिस्तारै कुरा गर्दै जाँदा उनले नाकाको बेहालबारे बेलिबिस्तार लाउन थाले। ‘सरकारी संयन्त्र मिलेपछि जे पनि वारपार गर्न सम्भव छ,’ उनले भने, ‘यसमा सुरक्षाकर्मी, प्रशासन र भन्सार मिलेका छन्।’ उनी यहाँको तस्करी दृश्य देख्दादेख्दा आजित भइसकेको समेत बताए। सप्तरीका मूल निवासी उनी सप्तरीकै बेल्ही र सिरहाको ठाढी नाकाबाट पारि आफ्ना सम्बन्धीको घर आउजाउ गरिराख्छन्।

पारि खुटौनामा साहका कुटुम्ब छन्। ‘हाम्रा लागि तस्करी नौलो, अनौठो र आश्चर्यको शब्द होइन,’ उनले भने, ‘गत वर्ष सिरहामा मदिरा तस्करले सशस्त्र प्रहरीका सईलाई मारेको खबर पढें। तस्करीमा संलग्न भएको आरोपमा प्रहरी अधिकृतहरू हेडक्वार्टर तानिएको खबर पढिरहन्छु।’ उनले थपे, ‘यी समाचार पढ्दा लाग्छ, अब त तस्करीको लाइन चलाउने आँट कसैले नगर्लान्। तर केही महिना रोकिएर पहिलाभन्दा कयौं गुणा बढी र खुला रूपमा तस्करी भइरहेको देख्दै आएको छु।’

सिरहाकै बरियारपट्टी नाका, जहाँ सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट छ, त्यहीँभित्र भन्सार चेक पोस्ट छ। त्यसको उत्तरपट्टि चौतारामा विश्राम गरिरहेका स्थानीय रौनक यादवले भने, ‘यहाँबाट आरपार नहुने कुनै मालवस्तु छैन। कसरी जान्छ–आउँछ, आफैं बुझ्नुस्।’ पछिल्लो समय सिरहाको सीतापुर नाका हुँदै गाँजा तस्करी हुँदै आएको छ। मकवानपुरबाट गोभीभित्र लुकाएर गाँजाका बोरा सिरहाको भोटियाटोलमा भण्डारण हुने र त्यहाँबाट अनुकुल समयमा लक्ष्मीपुरपत्तारी हुँदै पारि पुग्ने गरेको एक स्थानीयले बताए।

यी उदाहरण सिरहा र सप्तरीको भए पनि मधेस प्रदेशकै समग्रता हो। मधेसमा सुरक्षाकर्मीको उपस्थिति रहेकै सीमा नाकाबाट तस्करको राज चलेको छ। यहाँका नाकाबाट चिनी, आलु, प्याज, कपडा, मोटरपार्टस्, लताकपडा, किराना सामान, पान मसाला, सुर्तीजन्य पदार्थ (रजनीगन्धा, गुट्खा) भन्सार राजस्व छली गरी भित्र्याइन्छ। वारिबाट मदिरा, चिनियाँ स्याउ, लाइटर, गाँजा पारि पुर्‍याइन्छ। यी नाकाबाट रातभरि पारिबाट सामान ल्याएर मोटरसाइकल र टेम्पोमार्फत सहरतिर ढुवानी हुन्छ। घुमुवामार्फत ‘लाइन क्लियर’ रहेको संकेत पाएसँगै अन्धाधुन्ध सामान ढुवानी सुरु हुन्छ। सीमादेखि सहरसम्म लाइन क्लियर गर्न मोटरसाइकलमा तस्कर र प्रहरीका प्रतिनिधि (घुमुवा) खटिएका हुन्छन्। सीमा नाकाको सडक छेउमै घर हुनेहरू भन्छन्, ‘हामीसँग आँखा, कान र मुख थुनेर बस्नुको विकल्प छैन।’

मधेस प्रदेशस्थित सशस्त्र प्रहरी छिन्नमस्ता बाहिनीका बाहिनीपति डिआइजी कृष्ण ढकाल तस्करी पुरै बन्द रहेको दाबी गर्छन्। ‘हुँदै भएको चाहिँ भन्न सक्दिनँ तर यसमा मेरो संलग्नता कहीँकतै छैन,’ उनी भन्छन्, ‘मैले आठ वटै जिल्लाका एसपीलाई तस्करीमा शून्य सहनशीलता अपनाएर कारबाही गर्न प्रस्ट निर्देश गरेको छ। निर्देशनविपरीत वा कानुनविपरीत काम गरेको पाइए निर्मम कारबाही गर्छु।’ जेनजी विद्रोहपछि मधेस प्रदेशका केही जिल्लाबाट हुने तस्करीमा अलिकति कमी आए पनि केही जिल्लामा सदाबहार देखिएको छ। पहिलेदेखि नै तस्करी नियन्त्रण गर्ने निकायहरूको मिलोमतोमा भइरहेको तस्करी जेनजी आन्दोलनपछि झनै फस्टाएको छ। पर्सादेखि सप्तरीसम्म भइरहेको तस्करीले मधेस प्रदेशलाई तस्करहरूको स्वर्णभूमि बनाइदिएको देखिन्छ।

जेनजी विद्रोहका क्रममा विभिन्न कारागार तथा प्रहरीको थुनुवा भई अनुसन्धानका क्रममा रहेका आरोपी अपराधीहरू बाहिर आएपछि सुरक्षाको चुनौती बढेको अवस्थामा तस्करी झन् फस्टाएको हो। आन्दोलनका क्रममा मधेस प्रदेशका विभिन्न प्रहरी चौकी तथा इलाका कार्यालयहरू विस्थापित भएका थिए। कैयौं कार्यालयमा आगजनीसमेत भएको थियो। मधेस प्रदेशमा प्रहरी कार्यालयमाथि आक्रमण हुँदा १३ वटा पूर्ण क्षति ग्रस्त भएका थिए भने ७७ प्रहरी युनिटमा आंशिक क्षति पुगेको थियो। प्रदेशमा प्रहरीले प्रयोग गर्ने चारपांग्रे र दुईपांग्रे (मोटराइकल) गरी चार दर्जनभन्दा बढी सवारीसाधनमा तोडफोड र आगजनी भएको थियो। साधन र मनोबल दुवै कमजोर भएको मौका छोपी नेपाल–भारत सीमा वारपार सामान ओसारपसार गर्ने समूहले निर्बाध तस्करी बढाएको छ। तस्करी नियन्त्रण गर्न नेपाल भारत सीमा क्षेत्रमा सप्तरीदेखि पर्सासम्म सशस्त्र प्रहरी बलको ५८ बिओपी छन्। यसैगरी सप्तरीदेखि पर्सासम्म सशस्त्र प्रहरीकै प्रस्तावित १३ ओटा गुल्म पनि छन्। साथै हरेक जिल्लामा सीमा क्षेत्रमा नेपाल प्रहरीको प्रहरी चौकी, इलाका प्रहरी कार्यालय र सीमा प्रहरी गरी ६ दर्जनभन्दा बढी युनिट सक्रिय छन्।

मधेस प्रदेशको राजधानी रहेको धनुषा जिल्लाका सबै नाकाबाट तस्करी भइरहेको छ। धनुषाको इनर्वा, मैनाथपुर, धनौजी, जटही भन्सार र फुलगामाबाट तस्करी भइरहेको स्रोतको दाबी छ। तस्करी नियन्त्रण गर्ने क्रममा धनुषाको मैनाथपुरमा गत असारमा दुई पटक गोली हानाहान भएको थियो। सशस्त्र प्रहरीले सामान समातेपछि तस्करसित झडप हुने गरेको छ। तर सशस्त्र प्रहरीको प्रदेश कार्यालयबाट घुमुवा परिचालन हुँदा पनि तस्करी बढेका छन्। सूचना लिने नाममा वा तस्करीलाई सहज बनाइदिने नाममा प्रदेश कार्यालयबाट घुमुवाहरू परिचालित भएको स्रोतको दावी छ। ‘तस्करी नियन्त्रणका नाममा घुमुवा परिचालन हुन्छन् तर उनीहरूले नै कतिपय स्थनामा तस्करलाई सहज बनाइदिने गरेका छन्,’ स्रोतले भन्यो।

सशस्त्र प्रहरी मधेस प्रदेश कार्यालयबाट हरेक जिल्लाका लागि हवलदार र सहायक हवलदारलाई घुमुवाका रूपमा खटाउने गरिएको स्रोतको दाबी छ। सशस्त्र प्रहरी छिन्नमस्ता बाहिनी मधेस प्रदेश हेर्ने बाहिनी हो। त्यहाँ डिआइजीको दरबन्दी छ। त्यहीँबाट नै सहायक हवल्दार तहका घुमुवा परिचालित हुने गरेका छन्। भारतीय क्षेत्रबाट तस्करी भएर आएका सामान सिन्धुली हुँदै काठमाडौंसम्म सहजै रूपमा सुरक्षाकर्मीको मिलोमतोमा जाने गरेको स्रोतको दाबी छ। ‘बाहिनीबाट मधेसका आठ वटा जिल्लामा घुमुवा खटाउने गरिएको छ, जबकि अनुगमन र परिचालनका लागि राखिएको कार्यालयबाट घुमुवा किन खटाइन्छ?’ छिन्नमस्ता बाहिनीका एक अधिकृतले भने।

सर्लाहीको संग्रामपुर, पर्सा, नारायणपुर, छतौना, मधुवनी, सखुअवा, त्रिभुवन नगर, गोरखकाली, खुटौना, फेनहारा र बहादुरपुर नाकाबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको मिलोमतोमा तस्करी हुँदै आएको छ। सर्लाहीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको जोसुकै प्रमुख आए पनि तस्करी रोकिँदैन। नेपाल प्रहरीकै घुमुवाहरूले तस्करसित पैसा उठाएर दुवै निकायका प्रहरी प्रमुखसम्म पुर्‍याउने गरेका छन्।

सशस्त्र प्रहरीका केन्द्रीय सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले तस्करीलाई नियन्त्रण गर्ने प्रहरीको प्रयास सधै रहँदै आएको बताए। ‘तस्करी नियन्त्रण गर्ने विषयमा सशस्त्र प्रहरी मुख्यालयले सधैं मातहतका निकायलाई आन्तरिक रूपमा निगरानी गरिरहेको हुन्छ। मातहतका निकायका प्रमुखले दायाँबायाँ गरेको भेटिए कारबाही हुन्छ। विगतमा धेरै अधिकृतले कारबाही भोगेका छन्। त्यसकारण तस्करी न्यूनीकरण गर्ने काम विगतमा थियो, अहिले पनि छ,’ सहप्रवक्ता थापाले भने। केही समयअघि सर्लाहीको संग्रामपुर नाकाबाट दुई मोटरसाइकलमा लाखौं मूल्यबराबरको कपडा नियन्त्रणमा लिइएको थियो तर तस्करीमा संलग्न प्रहरी युनिटलाई कुनै कारबाही नगरी मोलतोल गरेर छाडिएको स्रोतको दाबी छ। सर्लाहीमा गत साता मधेस प्रदेश ०३–००२ ख ३०६८ र २३८० नम्बरका दुई ओटा ट्रक सर्लाहीको गडहिया डुमरियास्थित चोकमा चिनियाँ आँप र स्याउ स्थानीयले नियन्त्रणमा लिन माथिल्लो निकायलाई जानकारी गराएका थिए। तर सशस्त्र प्रहरीको मिलोमतोमा दुवै ट्रकलाई सर्लाहीको पश्चिमी नाकाबाट हटाएर पूर्वी नाका सखुअवाबाट भारतमा पठाउन लगाइएको थिए। सशस्त्र प्रहरीले उक्त नम्बरको ट्रक कतै फेला नपरेको तथा सूचना दिनेले गलत सूचना दिएको जानकारी माथिल्लो निकायमा पठाएको थियो।

गत साउन २९ गते रौतहटमा भएको चर्चित चिनी काण्डपछि बन्द रहेको तस्करी जेनजी आन्दोलनसँगै फेरि बौरिएको छ। जिल्लाको बंकुल, रामपुरखाप, नरकटिया, बसिर चौक, जयनगर, महुलिया, मठिया, औरैया, बन्जरहा, गौर, टिकुलिया, महादेवपट्टी र बेलबिछवा नाका हुँदै तस्करी भइरहेको छ। रौतहटमा देशमै सबैभन्दा ठुलो पानी परेको बेला आएको बाढीमा पनि बागमती र बकैया नदी भएर रक्सीको ठुलो तस्करी भएको थियो। ट्याक्टरको ट्युबमा हावा भरेर रक्सीको बोरा नै त्यससित बाँधी पानीमा बगाउँदा सजिलै भारत पुग्ने गरेको थियो।

यसैगरी बाराको कचोर्वा, सिमरौनगढ, पिपरपाती, खजानी, बेलदारी, कबहीगोठ, मटिअर्वा, फुलबरिया, छतबा बरैनिया, मुसहर्वा नाकाबाट व्यापक तस्करी भइरहेको छ। प्रदेशको सबैभन्दा तस्करी बाराकै नाकाबाट हुने गरेको छ। तस्करहरूका लागि स्वर्णभूमि बनेको बारामा सशस्त्र प्रहरीले छिन्नमस्ता बाहिनीबाट आएकालाई घुमुवाका रूपमा परिचालन गरेको छ। बाहिनीबाट बारा आएर सबै तस्करसित पैसा असुल गरी बाराका एसपीदेखि बाहिनीसम्म बिचौलियाको काम गरिरहेको स्रोतको दाबी छ। ‘माछा तस्करले सञ्चारकर्मीको आवरणमा रहेका केही व्यक्तिलाई समेत प्रयोग गर्ने गरेका छन्,’ बाराका एक सशस्त्र प्रहरी अधिकारीले भने, ‘सञ्चारकर्मी भन्नेको समेत मिलेमतो रहेको थाहा पाइएपछि हामीले सामान बरामद गरेका थियौं तर माथिको आदेशमा छाडियो।’

नेपालबाट भारततिर स्याउ, चाइनिज आँप, भेप, कस्मेटिक सामान, गाईगोरु आदि तस्करी हुने गरेका छन्। यस्तै चाइनिज स्टिल तथा कबाड पनि भारततिर तस्करी हुने गरेका छन्। यसैगरी भारतबाट नेपालतिर कपडा, किराना सामान, चिनी, मेसिनरी पाट्र्स, इलेक्ट्रोनिक्स पाटर््स, राँगाभैंसी, माछालगायत सामान तस्करी हुने गरेका छन्। मधेस प्रदेशको आर्थिक नगरीका रूपमा चिनिएको वीरगन्जबाट व्यापक तस्करी हुने गरेको छ। पर्साको अमरपट्टी, भिस्वा, इनर्वा, छपकैया, श्रीपुर, सिर्सिया ड्राइपोर्ट, ढोरे, जानकी टोलालगायत स्थानबाट सशस्त्र प्रहरीकै मिलेमतोमा तस्करी हुने गरेको बताइएको छ। ‘तत्कालीन गृहमन्त्रीको आशीर्वादमा पर्सा पुगेका एसपीले तस्करी रोक्न सकेका छैनन्,’ सशस्त्र प्रहरीका एक अधिकारीले भने। महोत्तरीमा रहेका पुरन चन्दलाई तत्कालीन गृहमन्त्री रमेश लेखकले पर्सा पठाएका थिए।

प्रकाशित: ३ कार्तिक २०८२ ०७:११ सोमबार