समाज

तस्करी गरी भित्र्याइएका १ लाख ४० हजार मूल्यका चल्ला बरामद

कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नम्बर १२, नरेनापुरमा भारतबाट तस्करी गरी भित्र्याइएका १ हजार ४ सय कुखुराका चल्ला बरामद गरिएको छ।

आइतबार बिहान लु २१ प ५९४२ नम्बरको मोटरसाइकलमा १४ वटा कार्टुनमा ल्याउँदै गरेको अवस्थामा प्रहरीले ती चल्ला बरामद गरेको हो।

सरकारले बर्ड फ्लु का कारण कुखुरा सहित पक्षीजन्य पदार्थको आयातमा प्रतिबन्ध लगाउँदै आएको छ। मोटरसाइकल चालक भने फरार भएका थिए।

प्रहरीका अनुसार बरामद गरिएका चल्लाको अनुमानित मूल्य १ लाख ४० हजार रुपैयाँ बराबर रहेको छ। यस्ता चल्लाबाट पशुपन्छीजन्य रोग फैलिने जोखिम रहने भएकाले नियन्त्रणमा लिएर नष्ट गरिएको जनाइएको छ।

बरामद चल्ला स्थानीय सरोकारवाला तथा सुरक्षाकर्मीहरूको रोहबरमा नष्ट गरिएको प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले बताए।

प्रहरीले पछिल्लो समय भारतबाट विभिन्न नाकाहरू हुँदै अवैध रूपमा चल्ला, कुखुरा तथा अन्य पशुपन्छीजन्य सामग्री नेपाल भित्र्याउने प्रयास बढ्दै गएको भन्दै सीमावर्ती क्षेत्रमा निगरानी कडा बनाइएको जनाएको छ।

यस्ता अवैध गतिविधिले स्थानीय कृषक तथा व्यवसायीलाई प्रत्यक्ष असर पार्नुका साथै पशु स्वास्थ्यमा समेत गम्भीर जोखिम निम्त्याउने भएकाले नियन्त्रण अभियानलाई निरन्तरता दिइने प्रहरीले जनाएको छ।

बरामद मोटरसाइकल कृष्णनगर भन्सार कार्यालय पठाइएको छ।

प्रकाशित: ७ असार २०८३ १९:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App