समाज

नेपाली कम्युनिष्ट पार्टीका नेतासहित ६ जना सरकारी कार्यालय आगजनी गरेको आरोपमा पक्राउ

विराटनगरबाट नेपाली कम्युनिष्ट पार्टीका स्थानीय नेतासहित ६ जनालाई प्रहरीले सरकारी कार्यालय आगजनी गरेको आरोपमा पक्राउ गरेको छ।  

गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा विराटनगरमा रहेका विभिन्न सरकारी कार्यालय तोडफोड र आगजनीमा संलग्न भएको देखिएपछि ताजिम अन्सारीसहित ६ जनालाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ।    

विराटनगर महानगरपालिका– १० का ३७ वर्षीय ताजिम अन्सारी, १० नम्बरकै ३२ वर्षीय राजीव यादव, ३ नम्बर वडाका ४१ वर्षीय महेश नेपाल, ५ नम्बर वडाका २६ वर्षीय आवाज पौडेल, ६ नम्बर वडाका ५५ वर्षीय बलराम कामत र ११ नम्बर वडाका २९ वर्षीय अरुण साहलाई पक्राउ गरेको मोरङ प्रहरीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक लेखनाथ दाहालले जानकारी दिए।

पक्राउ परेका मध्ये अन्सारी तत्कालीन माओवादी र हाल नेपाली कम्युनिष्ट पार्टीका स्थानीय नेता हुन्। उनी अमनलाल मोदी सामान्य प्रशासन मन्त्री हुँदा स्वकीय सचिवको जिम्मेवारी रहेर काम गरेका थिए। उनै अन्सारीको नेतृत्वमा सरकारी कार्यालय तोडफोड र आगजनी भएको थियो।  

पक्राउ परेका ६ जनालाई उनीहरुकै घरबाट मंसिर १४ गते आइतबार राति नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। मोरङ जिल्ला अदालतबाट ‘आपराधिक उपद्रो’ मुद्दामा पक्राउ पुर्जी जारी भएपछि उनीहरुलाई नियन्त्रणमा लिएको हो।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ। सरकारी कार्यालय तोडफोड र आगजनी गरेका आरोपमा हालसम्म ३१ जना पक्राउ परी सकेका छन्।

प्रकाशित: १५ मंसिर २०८२ २०:०७ सोमबार