पाल्पा र बागलुङमा पहिरोमा परी ६ जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्। पाल्पाको माथागढी गाउँपालिका–२ र रिब्दीकोट गाउँपालिका–६ मा पहिरोमा परी दुई जनाको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार माथागढी गाउँपालिका–२ रुप्से रजौलीका ७५ वर्षीय शेरबहादुर चिदी र रिब्दीकोट गाउँपालिका–६ ठिमुरे धुस्तुङकी ५९ वर्षीया कृष्णकुमारी सारुको पहिरोमा परी मृत्यु भएको हो। दुवै जनाको शव निकालिएको छ। शव परीक्षणका लागि जिल्ला अस्पताल पाल्पामा राखिएको छ।
यस्तै, माथागढी गाउँपालिका–३ कसेनी भैसीकट्टामा पहिरोले लिलबहादुर घर्तीमगरको घर पुरिँदा तीन जना बेपत्ता भएका छन्। घर्तीमगरको परिवारका दुई जना र छिमेकीकी एक छोरी बेपत्ता भएका हुन्।
उनीहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ। यसैबीच, बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख फणीन्द्र प्रसाईंका अनुसार निसीखोला गाउँपालिका–३ की श्यामकुमारी विक र उनका तीन छोरा मनोज, मुकेश र निसान विकको मृत्यु भएको हो।
उनीहरूको घर पहिरोले पुरिएको थियो। चारमध्ये तीन जनाको शव निकालिएको प्रहरीले जनाएको छ।
प्रकाशित: ११ आश्विन २०८३ १०:५० आइतबार