समाज

पावर हाउस बिग्रिएपछि हुम्लाको सिमकोट ५ दिनदेखि अन्धकार

नेपाल विद्युत् प्राधिकरणको हिल्दुम वितरण केन्द्रअन्तर्गतको पावर हाउसमा खराबी आएपछि जिल्ला सदरमुकाम सिमकोट पाँच दिनदेखि अन्धकार बनेको छ।

भदौ १६ गतेदेखि पूर्ण रूपमा ठप्प भएको विद्युत् सेवा तत्काल सुचारु हुने सम्भावना नदेखिएपछि प्राधिकरणले अर्को सूचना जारी नभएसम्मका लागि सेवा अनिश्चितकाल बन्द रहने जनाएको छ।

वितरण केन्द्रका सूचना अधिकारी कृष्णप्रसाद वलीका अनुसार पावर हाउसमा सञ्चालनमा रहेको युनिट-९ को कन्ट्रोल प्रणालीमा समस्या देखिएपछि आपूर्ति रोकिएको हो।

हुम्लामा उपलब्ध प्राविधिक जनशक्तिबाट सो समस्या समाधान गर्न नसकिने भएकाले बाहिरबाट आवश्यक उपकरण र विशेषज्ञ प्राविधिक मगाइएको उनले बताए।

बाहिरबाट सामग्री र प्राविधिक टोली आइपुग्न अझै समय लाग्ने भएकाले सेवा कहिलेसम्म नियमित हुन्छ भन्ने यकिन हुन सकेको छैन। भौगोलिक विकटता र यातायातको असहजताका कारण आवश्यक पार्टपुर्जा समयमै ढुवानी हुन नसक्दा मर्मत कार्य अनिश्चित बनेको हो।

लामो समयदेखि विद्युत् सेवा अवरुद्ध हुँदा सदरमुकामका सरकारी तथा गैरसरकारी कार्यालय, स्वास्थ्य संस्था, बैंक तथा वित्तीय संस्था, सञ्चारमाध्यम र स्थानीय व्यवसाय नराम्ररी प्रभावित भएका छन्। केही सरकारी कार्यालयहरूले सोलार प्रणालीबाट जेनतेन काम चलाए पनि सर्वसाधारण नागरिक भने चरम मर्कामा परेका छन्।

अझ कोठा भाडामा बस्ने नागरिक र विद्यार्थीहरू विद्युत् अभावबाट बढी पीडित बनेका छन्। मोबाइल चार्ज गर्न, इन्टरनेट चलाउन, पढ्न र विद्युतीय उपकरणहरू सञ्चालन गर्न नसक्दा जनजीवन कष्टकर बनेको छ।

पटक-पटक दोहोरिने यस्तो समस्याबाट आजित भएका स्थानीयवासीले तत्काल वैकल्पिक व्यवस्था गरी विद्युत् आपूर्ति सुचारु गर्न र हुम्लाको ऊर्जा संकटको दीर्घकालीन समाधान खोज्न माग गरेका छन्।

प्रकाशित: २० भाद्र २०८३ १८:५२ शनिबार