समाज

सिक्टा सिँचाइमा २४ अर्ब खर्चिएर आधा काम

बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी पाँच वर्षभित्र सम्पन्न गर्ने गरी काम अघि बढाइएको छ। सरकारको निर्देशनअनुसार पछिल्लो समय निर्माण कार्यलाई तीव्रता दिइएको आयोजना कार्यालयले जनाएको छ।

आयोजनाका निर्देशक राजु आचार्यका अनुसार पर्याप्त बजेट र जनशक्तिको अभाव नभए अबको पाँच वर्षभित्र सम्पूर्ण पूर्वाधार निर्माणको काम सकिनेछ। हालसम्म आयोजनाको ५१ प्रतिशत भौतिक प्रगति भएको छ भने पूर्वाधार निर्माणतर्फ करिब २४ अर्ब रुपैयाँ खर्च भइसकेको छ।

आर्थिक वर्ष २०६२/६३ बाट नेपाल सरकारकै आफ्नै स्रोतमा सुरु भएको यस आयोजनाबाट बाँकेको ४२ हजार ७ सय ६६ हेक्टर जमिनमा सिँचाइ पुर्‍याउने लक्ष्य छ।

जसअन्तर्गत पश्चिम मूल नहरबाट ३३ हजार ७ सय ६६ हेक्टर र पूर्वी मूल नहरबाट करिब ९ हजार हेक्टर जमिन सिञ्चित हुनेछ। हालसम्म २५ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुगिसकेको निर्देशक आचार्यले जानकारी दिए।

आयोजनाअन्तर्गत राप्ती सोनारी गाउँपालिकाको अगैयास्थित राप्ती नदीमा ३ सय १७ मिटर लामो ब्यारेज निर्माण गरिएको छ।

सुरुवाती लक्ष्यअनुसार समयमै काम हुन नसक्दा आयोजनाको लागत र म्याद निरन्तर बढ्दै गएको छ। विसं २०६४ मा स्वीकृत पहिलो गुरुयोजना अनुसार १२ अर्ब ८० करोड रुपैयाँ लागतमा आव २०७०/७१ भित्रै आयोजना सक्ने लक्ष्य थियो।

पछि पूर्वी मूल नहरसहितका संरचना थपिएपछि आव २०७१/७२ मा संशोधित गुरुयोजनाले २५ अर्ब २ करोड रुपैयाँ लागतमा २०७६/७७ सम्म काम सक्ने लक्ष्य निर्धारण गर्‍यो।

उक्त अवधिमा पनि आयोजना सम्पन्न नभएपछि पछिल्लो पटक विसं २०७९ मा तेस्रो गुरुयोजना स्वीकृत गरिएको छ। नयाँ गुरुयोजना अनुसार अब कुल ५२ अर्ब ८९ करोड रुपैयाँ लागतमा आर्थिक वर्ष २०८९/९० सम्म सम्पूर्ण काम सक्ने लक्ष्य रहेको सूचना अधिकारी मनोजकुमार साहले बताए।

आयोजनाको ४५ किलोमिटर लामो पश्चिम मूल नहर निर्माण भइसकेको छ। यसअन्तर्गतका सिधनिया, अकलघरुवा र गुरुवागाउँ शाखा नहरहरू सम्पन्न हुने चरणमा छन् भने डुडुवा शाखा नहरको काम चलिरहेको छ।

करिब १६ हजार हेक्टरमा सिँचाइ पुर्‍याउने लक्ष्य भएको डुडुवा शाखा नहर निर्माण निर्माण व्यवसायी ‘कोस्टल पप्पु जेभी’ को विवाद र अदालती प्रक्रियाका कारण लामो समय अलपत्र परेको थियो।

गत वर्ष विवाद सुल्झिएपछि नयाँ ठेक्कामार्फत काम अघि बढाइएको हो। पश्चिम मूल नहरका थप शाखा र प्रशाखा निर्माणका लागि ३० वटा बोलपत्र आह्वान भइसकेको सूचना अधिकारी साहले जानकारी दिए।

अर्कातर्फ, ५३ किलोमिटर लामो पूर्वी मूल नहरको काम भने अझै अधुरै छ। बाँधदेखि वैशागाउँ हुँदै करिब ३५ किलोमिटरसम्म नहर बने पनि नरैनापुर गाउँपालिका क्षेत्रमा काम रोकिएको छ।

गत आर्थिक वर्ष २०८२/८३ मा आयोजनाका लागि विनियोजित १ अर्ब ५७ करोड रुपैयाँमध्ये १ अर्ब ४१ करोड रुपैयाँ (करिब ८९ प्रतिशत) वित्तीय खर्च भएको छ भने भौतिक प्रगति ९६ प्रतिशतभन्दा माथि रहेको छ।

यस अवधिमा डुडुवा प्रणालीतर्फ ९.५ किलोमिटर, पश्चिम नहरतर्फ ९ किलोमिटर, पूर्वी नहरतर्फ ९.५ किलोमिटर शाखा-प्रशाखा नहर निर्माण गरिएको छ। साथै, सिञ्चित क्षेत्र बचाउअन्तर्गत ७.५ किलोमिटर तटबन्ध निर्माण र ५.५ हेक्टर जमिन अधिग्रहण गरिएको छ।

मूल नहर बने पनि आवश्यक शाखा र प्रशाखा नहरहरू समयमै नबन्दा किसानहरू भने मारमा छन्।

दुवै मूल नहरअन्तर्गतका शाखा, उपशाखा र प्रशाखा नहर निर्माण समयमै पूरा नहुँदा बालीनालीमा आवश्यकता परेका बेला सिँचाइ गर्न नपाइएको सिक्टा आयोजना जल उपभोक्ता समितिका अध्यक्ष शालिकराम डाँगीले गुनासो गरे।

प्रकाशित: २७ भाद्र २०८३ १५:०५ शनिबार