समाज

कहिल्यै पूरा नहुने भो गाइजात्रामा आउने सत्यसुन्दरको वाचा

यो वर्षको परम्परागत गाइजात्रा पर्व शनिबार परेको छ । यही कारण भक्तपुरबासीमा यतिखेर नयाँ उत्साह छ । यही उत्साह सत्यसुन्दर प्रजापति र उनको परिवारका पनि थियो । ३६ वर्षीय इन्जिनियर सत्यसुन्दरले पनि गाइजात्रामा भक्तपुर आएर रमाउने इच्छा व्यक्त गरेका थिए । यो कुरा उनले टेलिफोनमा मंगलबार मात्रै आफना परिवारसँग गरेका थिए । तर, नियतिले यस्तो कठोर खेल खेल्यो कि गाइजात्रा हेर्न आउने वाचा गरेका सत्यसुन्दर आफैं आफ्नो मृत्युको गाई लिएर सदाका लागि घर फर्किनुपर्ने भयो ।

तिब्बतबाट रसुवातर्फ आएको विनाशकारी बाढीमा परी अपर त्रिशुली हाइड्रोपावरमा कार्यरत इन्जिनियर प्रजापतिको मृत्यु भएको पुष्टि भएको छ । योसँगै भक्तपुरबाट बेपता भएकामध्ये पहिलो मृत व्यक्ति भएपछि भक्तपुर शोकमा डुबेको छ यतिखेर ।

ललितपुरको ग्वार्कोमा बस्दै आएका सत्यसुन्दर कामको सिलसिलामा रसुवा क्षेत्रमा थिए । बाढीको विनाशकारी भेलले उनलाई पनि बगायो । परिवारले उनको सकुशल फर्किने आशा गरिरहँदा अन्ततः धादिङस्थित त्रिशुली नदीको तटमा उनको शव फेला पर्‍यो ।

मृतक सत्यसुन्दरका मामा न्हुछे प्रजापतिका अनुसार अपर त्रिशुली हाइड्रोपावरमा कार्यरत इन्जिनियर भान्छा सत्यसुन्दर प्रजापतिको शव त्रिशुली नदी किनारमा विहीबार दिउँसो फेला परेको हो । आफन्तहरूले शवको सनाखत गरेपछि उनको मृत्यु भएको पुष्टि भएको हो ।

गाइजात्रा भक्तपुरका लागि केवल एउटा पर्व मात्र होइन, दिवंगत आत्माको सम्झना गर्ने, पीडालाई सहन सक्ने शक्ति खोज्ने र हाँसोभित्र आँसु लुकाउने सांस्कृतिक अवसर पनि हो । यसै पर्वमा रमाउन आउने कुरा फोनमा परिवारसँग गरेका सत्यसुन्दर अब भने आफ्नै सम्झनामा गाइजात्रा निकालिनुपर्ने अवस्थामा पुगेका छन् । परिवारका सदस्यका लागि यो यथार्थ स्वीकार्न अत्यन्त कठिन बनेको छ यतिखेर ।

गाइजात्रामा आउँला, रमाइलो गरौँला भन्ने आशयमा भएको पारिवारिक कुराकानी अहिले परिवारको मनमा अन्तिम सम्झनाजस्तै बनेको छ । केही दिनअघि फोनमा हाँस्दै बोल्ने सत्यसुन्दर अब कहिल्यै नबोल्ने गरी बिदा भएको खबरले परिवार, आफन्त र चिनजानका मानिसलाई स्तब्ध बनाएको छ ।

हाइड्रोपावर क्षेत्रमा कार्यरत सत्यसुन्दर प्रजापति प्रकृतिको यही विनाशकारी प्रकोपका एक पीडित बने । परिवारले उनको खोजीमा बिताएका चिन्तित दिनहरू अन्ततः शवको सनाखतसँगै दुःखद निष्कर्षमा पुगे । उनी अविवाहित हुन् ।

गाइजात्रामा रमाउन आउने भनेर परिवारसँग फोनमा कुरा गरेका सत्यसुन्दर अन्ततः फर्किने भए तर आफ्नै जीवनको अन्तिम यात्राका रूपमा । प्रकृतिको एकाएक आएको विनाशकारी बाढीले उनको सपना, परिवारको प्रतीक्षा र गाइजात्राको रमाइलो सबै बगाएर लग्यो । अब भक्तपुरको गाइजात्रामा सत्यसुन्दर स्वयं उपस्थित हुने छैनन् ।

प्रकाशित: ११ भाद्र २०८३ २०:११ बिहीबार