काठमाडौं कपनस्थित श्याल्पा गुम्बामा हतियार लुकाएको हल्ला चलेपछि निरीक्षण गरिएको छ। डा. वासुदेवकृष्ण शास्त्री र डा. चिन्तामणी योगीको नेतृत्वमा हिन्दु गुरुहरूको टोलीले शनिवार निरीक्षण गरेको हो।
सो अवसरमा श्याल्पा तेन्जिन रिन्पोचेले सबै कोठा खुला गरेर देखाएका थिए। हतियार केही भेटिएन, बरु बुद्धका ८४ हजार श्लोक र पवित्र ग्रन्थहरू मात्र थिए। गुम्बामा दुर्गम क्षेत्रका नेपाली बालबालिकालाई निःशुल्क आवास–भोजनसहित कक्षा १२ सम्म पढाइ हुँदै आएको छ।
रिन्पोचेले गुम्बाको हतियार अहिंसा, प्रेम र करुणा भएको भन्दै यसले अज्ञान, रिस र मोह मार्ने बताए।
हिन्दु–बौद्ध गुरुहरूले खादा साटासाट गरी हजारौं वर्षको एकताको सन्देश दिएका थिए। टोलीलाई शुद्ध शाकाहारी भोजन खुवाएर बिदा गरिएको थियो।
प्रकाशित: १७ मंसिर २०८२ १३:२० बुधबार