समाज

सामाजिक सञ्जालमा ‘अन्तिम भिडियो’ भन्दै सम्पर्कविहीन भएकी शोभा पाठक सकुशल भेटिइन्

शनिबार राति सामाजिक सञ्जालमा ‘अन्तिम भिडियो’ भन्दै भिडियो पोस्ट गरेर सम्पर्कविहीन भएकी शोभा पाठकलाई प्रहरीले सकुशल उद्धार गरेको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता पवनकुमार भट्टराईले पाठकलाई काठमाडौं महानगरपालिकाको वनस्थली क्षेत्रबाट सकुशल उद्धार गरिएको नागरिकन्युजलाई जानकारी दिए। भट्टराईका अनुसार उद्धारपछि उनलाई आवश्यक परामर्श तथा स्वास्थ्य परीक्षणका लागि मनमोहन अस्पतालमा लगिएको छ।

‘उहाँ सुरक्षित हुनुहुन्छ। आवश्यक काउन्सेलिङ वा उपचार आवश्यक पर्छ कि भनेर अस्पताल पुर्‍याएका छौं। आफन्तजनसँग सम्पर्क गर्ने प्रयास पनि भइरहेको छ,’ भट्टराईले भने।

प्रहरीलाई उक्त भिडियोबारे शनिबार राति करिब १० बजे जानकारी प्राप्त भएको र त्यसलगत्तै प्रहरीले शोभासँग सम्पर्क गर्ने तथा खोजी गर्ने प्रयास सुरु गरेको जनाएको छ। आइतबार बिहान करिब सवा ९ बजे उनलाई सकुशल फेला पारिएको प्रहरीको भनाइ छ।

हाल शोभाको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। उनले किन ‘अन्तिम भिडियो’ भन्दै सन्देश सार्वजनिक गरेकी थिइन् भन्ने विषयमा चिकित्सक तथा सम्बन्धित पक्षसँग समन्वय गरी थप जानकारी संकलन भइरहेको प्रवक्ता भट्टराईले बताए।

प्रकाशित: १७ जेष्ठ २०८३ १०:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App