समाज

हाँससँगै रमाएका शंकर, वर्षेनी बेच्छन् १५ हजार चल्ला

चितवनमा व्यावसायिक रूपमा हाँसपालन गर्ने किसानको संख्या अझै सीमित छ। फर्म नै दर्ता गरेर व्यवस्थित रूपमा हाँसपालन गर्ने व्यवसायी त झन् कम छन्। तर, यही क्षेत्रमा सम्भावना देखेर भरतपुर महानगरपालिका–१७, शारदानगरका शंकर महत्तो विगत पाँच वर्षदेखि व्यावसायिक हाँसपालनमा रमाइरहेका छन्।

पाँच वर्षअघि ‘अमेरिकन हाँस तथा माछा फर्म’ दर्ता गरेर हाँसपालन सुरु गरेका महत्तोले अहिले चल्ला उत्पादनलाई आफ्नो मुख्य व्यवसाय बनाएका छन्। उनको फर्ममा हाल करिब ६ सय हाँस छन् भने वार्षिक १५ हजारभन्दा बढी चल्ला उत्पादन गरी बिक्री गर्दै आएका छन्।

सुरुआती चरणमा महत्तोले करिब दुई हजार हाँस पालेका थिए। तर, स्यालले हाँस मार्ने र अन्य कारणले हाँस मर्ने समस्या बढेपछि संख्या घटाएर ६ सयमा झार्नुपरेको उनी बताउँछन्।

‘विभिन्न समस्या आएपछि हाँसको संख्या घटाउनुपरेको थियो,’ उनले भने, ‘अब व्यवसायलाई थप व्यवस्थित गर्दै फेरि हाँसको संख्या बढाउने योजना छ।’

महत्तोले मुख्यतः ब्रोइलर जातका हाँस पाल्दै आएका छन्। छिटो वृद्धि हुने भएकाले चल्ला उत्पादन र बिक्रीका लागि यो जात उपयुक्त रहेको उनको अनुभव छ। उनका अनुसार ब्रोइलर हाँस दुई महिनामै करिब दुई किलोसम्मको हुन्छ।

उनको फर्मबाट उत्पादित चल्ला प्रतिगोटा एक सय रुपैयाँमा बिक्री हुन्छ। चल्लाको माग राम्रो रहेकाले वर्षमा १५ हजारभन्दा बढी चल्ला बिक्री गर्दै आएको महत्तो बताउँछन्।

हाँसको मूल्य भने जात र प्रयोजनअनुसार फरक पर्ने गरेको छ। पोथी हाँस करिब सात सय रुपैयाँ र भाले हाँस एक हजार रुपैयाँसम्म बिक्री हुने गरेको उनको भनाइ छ। यद्यपि, मासुका लागि हाँस बिक्री गर्नुभन्दा चल्ला उत्पादनमै आफ्नो मुख्य ध्यान रहेको उनी बताउँछन्।

सीमित संख्यामा हाँस पालन गरेर पनि महत्तोले यस व्यवसायबाट वार्षिक करिब १० लाख रुपैयाँ आम्दानी गर्दै आएका छन्। फर्म सञ्चालनमा परिवारका सदस्यले समेत सहयोग गर्दै आएका छन्।

चितवनमा हाँसपालनको व्यावसायिक सम्भावना राम्रो भए पनि किसानको आकर्षण अपेक्षाकृत रूपमा बढ्न नसकेको उनको अनुभव छ। महानगर क्षेत्रमा हाँसपालनलाई व्यवस्थित व्यवसायका रूपमा अघि बढाउने किसानको संख्या निकै कम रहेको उनी बताउँछन्।

हाँसपालनलाई थप विस्तार गर्ने योजना बनाएका महत्तोसँग कृषि तथा पशुपालनका अन्य व्यवसायको पनि लामो अनुभव छ। उनी १७ वर्षदेखि माछापालन र १५ वर्षदेखि बंगुरपालनमा समेत संलग्न छन्। विगतमा माछा र बंगुरपालनलाई सँगसँगै अघि बढाएका उनले पछिल्लो समय ती व्यवसायमा विभिन्न चुनौती थपिएको बताए।

विशेषगरी माछापालनका लागि गुणस्तरीय भुरा पाउन कठिन भएको उनको अनुभव छ। बजारमा उपलब्ध माछाका भुराको गुणस्तर र जातबारे स्पष्ट जानकारी नहुँदा किसान समस्यामा पर्ने गरेको उनी बताउँछन्। सही जातका गुणस्तरीय भुरा नपाउँदा लगानीअनुसारको प्रतिफल लिन कठिन हुने उनको भनाइ छ।

व्यावसायिक हाँसपालनलाई थप व्यवस्थित र विस्तार गर्न भेटेरिनरी सेवा तथा प्राविधिक सहयोग आवश्यक रहेको महत्तो बताउँछन्। स्थानीय तहले हाँसपालन गर्ने किसानलाई प्राविधिक परामर्श, उपचार सेवा र प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्न सके यस क्षेत्रमा थप किसान आकर्षित हुन सक्ने उनको विश्वास छ।

चितवनमा व्यावसायिक हाँसपालन गर्ने किसानको संख्या सीमित रहे पनि महत्तोको अनुभवले यो क्षेत्रमा सम्भावना रहेको देखाएको छ। चल्ला उत्पादनलाई प्राथमिकता दिँदै उनले हाँसपालन व्यवसायलाई आगामी दिनमा थप विस्तार गर्ने तयारी गरेका छन्।

प्रकाशित: १४ कार्तिक २०८३ १७:४५ शनिबार