धनुषाको नगराइनबाट विजया दशमीका दिनदेखि बेपत्ता भएका सात वर्षीय बालक साकेत झा मृत फेला परेका छन्।
नगराइन नगरपालिका-७, देवडिहास्थित घरबाट करिब साढे दुई किलोमिटर उत्तरतर्फ रहेको धानखेतमा शनिबार बालकको शव फेला परेको हो। स्थानीयवासीले खेतमा शव देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार उनी यही कात्तिक ४ गते दशैंको टीकाको दिनदेखि सम्पर्कविहीन बनेका थिए।
बालक लामो समयसम्म घर नफर्किएपछि परिवारजनले खोजीका लागि प्रहरीलाई गुहारेका थिए।
घटनालगत्तै प्रहरीले आसपासका गाउँ, पोखरी तथा झाडीहरूमा खोजी तीव्र पारेको थियो। बालकको मृत्युको कारणबारे विस्तृत विवरण आउन बाँकी रहेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: १४ कार्तिक २०८३ १९:०० शनिबार