समाज

मनाङमा दुईसातामा सातजना पर्यटकको ज्यान गयो

आइतबार भारतीय बाबुछोरीको शव फेला

मनाङमा हिउँमा पुरिएर ज्यान गुमाएका भारतीय पर्यटकद्वयको शव उद्धार गर्दै सशस्त्र प्रहरी। तस्बिरः सशस्त्र प्रहरी

दुईसाता अवधिमा हिमाली जिल्ला मनाङमा सातजना पर्यटकको ज्यान गएको छ। तीमध्ये दुईजनाको शव आइतबार फेला परेको छ। ज्यान गुमाएका मध्ये आइतबार शव फेला परेका भारतीय पर्यटक हिमपहिरोको चपेटामा परेको अनुमान छ। बाँकी पाँचजनाको भने लेक लागेर ज्यान गएको मनाङ प्रहरीले बताएको छ।  

मनाङमा कात्तिक पहिलोसाता सम्पर्कविहीन भएका दुई भारतीय नागरिकको शव हिउँले पुरिएको अवस्थामा फेला आइतबार फेला परेको मनाङका प्रहरी प्रमुख डिएसपी हरिप्रसाद पौडेलले जानकारी दिए। पौडेलका अनुसार ५२ वर्षीय जिग्नेसकुमार लल्लुभाई पटेल र उनकी १७ वर्षीया छोरी प्रियन्सा कुमारी पटेलको शव सशस्त्र प्रहरी बलको एक विशेष टोलीले आइतबार दिउँसो फेला पारेको हो।

उनका अनुसार मनाङ ङिस्याङ गाउँपालिका–५ स्थित मलेरिपा गुम्बा गएका पटेल बाउछोरी त्यसपछि सम्पर्कविहीन भएका थिए। होटलबाट निस्केर गुम्बा गएका उनीहरु सम्पर्कविहीन भएपछि खोजी सुरु भएपनि हिमपातका कारण उनीहरु फेला पर्न सकेका थिएनन। हिउँ पग्लदै गएपछि आइतबार बल्ल उनीहरुले लगाएको ज्याकेट देखिएको थियो। त्यसपछि खोजीका लागि गएको प्रहरीले शव फेला पारेको उनले बताए।

‘हिउँ पर्नु भन्दा पहिल्यै उनीहरु गुम्बा गएका रहेछन । ध्यान गर्न गएका उनीहरु हिउँ परेपछि उतै रोकिएको अनुमान छ,’ उनले भने, ‘हिउँले अड्केको बेला हिमपहिरो झरेर उनीहरु पुरिएको आशंका छ। आइतबार बल्ल उनीहरुको शव फेला परेको छ। प्रहरीले अनुसन्धान सुरु पनि गरेको छ।’ 

सम्पर्कविहीन भएका उनीहरुलाई खोज्न प्रहरीले ड्रोन समेत प्रयोग गरेको थियो। तर हिउँले पुरिएको कारण फेला पर्न सकेको थिएन। समुन्द्री सतहभन्दा ४२ सय मिटर उचाईमा उनीहरुको शव फेला परेको डिएसपी पौडेलले बताए। उनका अनुसार उनीहरु अघिल्लो वर्षपनि यही सिजनमा नेपाल आएर उक्त ठाउँमा ध्यान गर्न गएका थिए। मृतक पर्यटकद्वयको शव मनाङ झार्नका लागि प्रहरीको टोली उक्त स्थानमा गएको उनले बताए। उनीहरुको शवलाई सशस्त्र प्रहरीले फेला पारेको भएपनि मुचुल्का गरेपछि बल्ल सडकमा झारेर गाडीमार्फत पठाइने उनले बताए।  

यो बाहेक मनाङमा १५ दिन अवधिमा अरु पाँचजना पर्यटकको पनि ज्यान गएको छ। हिमपात र लेक लाग्दा यो अवधिमा सबैगरि सातजनाको ज्यान गएको उनले बताए। डिएसपी पौडेलका अनुसार ज्यान गुमाउनेमा ३ जना भारतीय, ३ जना नेपाली र १ जना अस्टे«लियन पर्यटक रहेका छन। सातजना मध्ये एकजना मात्र महिला र बाँकी अरु सबै पुरुष रहेको पनि उनले बताए। उनीहरु सबैले ३५ सय मिटर माथि लेक लागेर ज्यान गुमाएका थिए।  

यो पटक तुलनात्मक रुपमा हिमपात केही छिटो भयो। पदयात्राको मुख्य सिजनमै हिमपात भएपछि पर्यटक बीचमै अलपत्र परेको उनले बताए। ‘यो बेला हिमपातको समय होइन। पदयात्रा र हिमाल आरोहणको सिजनमै हिमपात भएपछि पर्यटक चपेटामा परेका हुन,’ उनले भने, ‘यहि हिमपात नहुँदो हो त पर्यटक अप्ठेरोमा नपर्न पनि सक्थे।’  

अघिल्ला वर्षको अभ्यासमा मंसिर १५ पछि मात्र हिमाली क्षेत्रमा हिउँ पर्दा त्यो बेला मान्छे कम हुने हुँदा मानवीय क्षति पनि थोरै हुने गरेको उनले बताए। ‘मान्छे पदयात्रामै रहेको बेला हिमपात भयो। चिसोले गर्दा पनि लेक लाग्नमा केही साथ दियो। हिउँ पर्ने मुख्य सिजनमा त यहाँ मान्छे नै हुँदैनथे। अहिले भने मान्छेको भीडभाड भएको बेला हिमपात हुँदा जोखिम पनि थपियो,’ उनले भने।

प्रकाशित: २३ कार्तिक २०८२ १७:५६ आइतबार

मनाङ पर्यटक