महाकाली नदीको कटानले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० स्थित कुतियाकवर जोखिममा परेको छ।
पूर्वमा महाकाली र उत्तरमा जोगबुढा नदीको दोसाधमा रहेको कुतियाकवर भारतसँग जोडिएको छ। यो बस्तीमा महाकाली नदीको लगातारको कटानले बढी क्षति पुगेको हो। स्थानीयका अनुसार नदीको कटानले यहाँ दुई बिघाभन्दा बढी जमिन नदीमा समाहित भइसकेको छ।
बस्ती जोगाउन सरकारसँग पटकपटक आग्रह गरे पनि नदीको कटान रोक्न तटबन्ध निर्माण हुन नसकेको स्थानीय टेकबहादुर सुनारले बताएका छन्। उनका अनुसार डुबान र कटानका कारण यहाँबाट अधिकांश मानिस बसाइँ सरिसकेका छन्।
'नदीले निरन्तर कटान गरिरहेकाले नदी बस्ती छेउमा पुगिसकको छ। तटबन्ध निर्माण गर्नुपर्नेमा सरकारले पहल नगर्दा बस्ती साघुँरिदै गएको छ,' उनको भनाइ छ, 'नदीले बर्सेनि खेतीयोग्य जमिन कटान गर्दै आएको छ। हामीलाई त बस्ती नै नदीमा समाहित हुने चिन्ता बढ्दै गएको छ।'
विसं २०२२ देखि बस्ती बसेको कुतियाकवरमा यसअघि १५० परिवारको बसोबास थियो। महाकाली र जोगबुढा नदी बस्ती पस्न थालेपछि १०० परिवार विस्थापित भएका छन्। विसं २०७४ मा जोगबुढा नदीमा झोलुङ्गे पुल बनेर नगरसँग जोडिएपछि स्थानीयलाई केही राहत भएको थियो। त्यसअघि स्थानीयलाई नगरपालिका पुग्न ढुङ्गाको प्रयोग गर्नुपर्ने बाध्यता थियो।
'विगतका वर्षमा आउने बाढीबाट धेरै दुःख पायौँ,' स्थानीय खडक बुढा भन्छन्, 'विसं २०७८ को बाढीले गाईभैँसी, बाख्रा सबै बगायो। घरमा रहेको अन्न पनि बचेन।' यस वर्ष जोगबुढा नदीमा तटबन्ध निर्माण सुरु भएपछि डुबानबाट सुरक्षित हुने आशा गरिएको बताउँदै उनले निर्माण सम्पन्न नहुँदा निरन्तर कटान भइरहेको उल्लेख गरेका छन्। उनका अनुसार केही वर्षअघिसम्म बाक्लो बसोबास रहेको कुतियाकवर बाढीका कारण धेरै बसाइँ सरेर अन्यत्र गएपछि बस्ती पातलिँदै गएको हो।
दोधारा चाँदनीका नगरप्रमुख किशोर लिम्बूले कुतियाकवरमा महाकाली नदीले कटान गरिरहेकाले बस्तीको सुरक्षाका लागि दुई वटा ‘सेफहाउस’ निर्माण गरेको बताएका छन्।
'महाकाली नदीले बस्तीको भूभाग कटान गरिरहेको छ, हामीले पानी घटेको स्थानमा ग्राभेल हालेर सुरक्षाको उपाय अपनाइरहेका छौँ,' उनले भने, 'मानवीय क्षति हुन नदिन पालिकाले संयन्त्र बनाएर काम गरिरहेको छ।' उनका अनुसार महाकाली र जोगबुढा नदीका विभिन्न स्थानमा जलमापन यन्त्र जडान गरेर त्यहाँको सूचना सिधैँ नगरपालिकामा आउने व्यवस्था बनाइएको छ।
बाढीबाट कुतियाकवर बस्ती जोगाउन सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयले जोगबुढा नदीमा ८१६ मिटर लामो तटबन्ध निर्माण सुरु गरेको थियो। ढिलोगरी ठेक्का सुरु भएकाले नदीमा पानी बढेपछि निर्माण व्यवसायीले काम नगर्दा पूर्ण हुन नसकेको नगरप्रमुख लिम्बूले जानकारी दिएका छन्।
तटबन्ध निर्माणका लागि कार्यालयले गत चैत २५ गते पाँच करोड १६ लाख ६७ हजारमा शङ्कर कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता गरेको थियो। सम्झौताअनुसार ८१६ मिटर लामो तटबन्ध आगामी चैत २५ भित्र सम्पन्न गरिसक्नु पर्नेछ। लिम्बुका अनुसार करिब ५० बिघा क्षेत्रफलमा रहेको बस्ती हरेक वर्षको कटानले साघुँरिदै गएको छ। कटानका कारण सीमास्तम्भ नं २२ लामो समयदेखि हराइरहेको छ। २२ नम्बर पिल्लर भएको ठाउँमा अहिले महाकाली बग्छ। रासस
प्रकाशित: १७ भाद्र २०८२ ०८:०५ मंगलबार