कालीकोट जिल्लाको पूर्वाधार विकास कार्यालय प्रमुखविहीन बनेपछि सेवा प्रवाह ठप्प भएको छ।
भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, कर्णाली प्रदेशले दुई महिनादेखि प्रमुखको जिम्मेवारी नतोक्दा सेवा प्रवाह ठप्प रहेको हो। कार्यालय प्रमुखविहीन भएको दुई महिना बित्दा पनि कर्णाली प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले कार्यालयका लागि हालसम्म कार्यालय प्रमुखको व्यवस्थापन नगर्दा दैनिक सेवाहरू अवरुद्ध भएका छन्।
स्थानीय ठेकेदारहरूले भुक्तानीका लागि कार्यालय पुग्दा कर्मचारीहरूले कार्यालय प्रमुख नभएकै कारण प्रक्रिया अगाडि बढाउन नसकिने जवाफ दिने गरेको सेवाग्राहीको गुनासो छ।
कार्यालय प्रमुख नहुँदा सेवा प्रवाह ठप्प भएको विषयमा प्रमुख जिल्ला अधिकारी गोकर्ण राज सुयलले कर्णाली प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयलाई खबर गरिसकेको बताए। पुराना कार्यालय प्रमुखले रमाना बुझेर सरुवा भइसक्दा पनि कार्यालय प्रमुख नहुँदा अन्य विकासका काम पनि ठप्प छन्।
प्रकाशित: १२ कार्तिक २०८२ १२:११ बुधबार