देशका विभिन्न चार जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी आठ जनाको मृत्यु भएको छ। नुवाकोट, दैलेख, बर्दिया र कपिलवस्तुमा भएका दुर्घटनामा उनीहरूको ज्यान गएको हो।
नुवाकोटको विदुर नगरपालिका-९ खड्कथोकमा सोमबार बिहान बा.९९ प ८२०२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा मोटरसाइकल चालक धादिङ खनियाबास गाउँपालिका-५ घर भई हाल विदुर-९ बस्ने ४७ वर्षीय बुद्धिमान तामाङ तथा मोटरसाइकलमा सवार विदुर-१३ बस्ने ३१ वर्षीया बिन्दा थापा मगर र २७ वर्षीया सुनिता थापा मगर रहेका छन्। गम्भीर घाइते उनीहरूको त्रिशुली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
दैलेखको गुराँस गाउँपालिका-१ काफल तोलीस्थित सडकमा कालिकोटबाट सुर्खेततर्फ जाँदै गरेको क.प्र.०२-००१ च १२१५ नम्बरको बोलेरो सोमबार बिहान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
मृत्यु हुनेमा चालक कालिकोट सान्नी त्रिवेणी गाउँपालिका-७ बस्ने २२ वर्षीय योगेश सिंखडा र बोलेरोमा सवार सोही गाउँपालिका-६ बस्ने ४१ वर्षीय रने शार्की छन्।
उनीहरूको प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको हो। घाइते चार जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।
बर्दियाको ठाकुरबाबा नगरपालिका-५ वनवीरपुर चौबाटो चोकमा आइतबार राति दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जना चालकको मृत्यु भएको छ।
सु.प.प्र.०१-००८ प ५८७७ नम्बरको मोटरसाइकल चालक ठाकुरबाबा-५ खुनपुर बस्ने ३० वर्षीय महेन्द्र रिजाल र भे.१० प ९९३६ नम्बरको मोटरसाइकल चालक ठाकुरबाबा-४ बर्गदा बस्ने २० वर्षीय अभिषेक चौधरीको ज्यान गएको हो।
अभिषेकको जिल्ला अस्पताल बर्दियामा र महेन्द्रको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर बाँकेमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
यसैगरी, कपिलवस्तुको महाराजगंज नगरपालिका-३ बर्गदवामा लु.१ ख ९७२६ नम्बरको बसको ठक्करबाट पैदलयात्री कपिलवस्तु नगरपालिका-३ लक्ष्मीनगर बस्ने ७७ वर्षीय लखन अहिरको मृत्यु भएको छ।
ठक्करबाट गम्भीर घाइते भएका अहिरको जिल्ला अस्पताल तौलिहवामा उपचारका क्रममा मृत्यु भएको हो। प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ।
दुर्घटनाका सबै घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रकाशित: २३ कार्तिक २०८३ १७:३९ सोमबार