समाज

सुरक्षाकर्मीको ‘चारखुट्टे सहकर्मी’ : गन्ध पछ्याउँदै अपराधीदेखि भग्नावशेषभित्रको जीवनसम्म खोज्दै

घटनास्थलमा प्रहरी पुग्छ। आँखाले देख्न नसक्ने, सामान्य उपकरणले तत्काल पत्ता लगाउन नसक्ने एउटा सुराग त्यहाँ छ;कुनै कपडामा रहेको गन्ध, जमिनमा परेको पदचिह्न, गाडीभित्र लुकाइएको विस्फोटक पदार्थ वा भग्नावशेषमुनि थुनिएको मानिसको जीवनको संकेत।

त्यही बेला अगाडि बढ्छ प्रहरीको एउटा विशेष सहकर्मी-तालिमप्राप्त कुकुर।

आज कुकुर तिहार मनाइरहँदा घरमा पालिएका कुकुरलाई माला र टीका लगाएर सम्मान गर्ने परम्परा एकातिर छ भने अर्कोतर्फ यिनै कुकुर सुरक्षाकर्मीका लागि अपराध अनुसन्धान, लागूऔषध नियन्त्रण, विस्फोटक पदार्थ खोजी र विपद्मा मानिसको खोजी–उद्धारका महत्वपूर्ण सहकर्मी बनिरहेका छन्।

मानिसको आँखाले नदेख्ने र नाकले छुट्याउन नसक्ने सूक्ष्म गन्ध पछ्याउने असाधारण क्षमताका कारण विश्वभरका प्रहरी, सेना तथा अन्य सुरक्षा निकायले कुकुरलाई विशेष तालिम दिएर परिचालन गर्दै आएका छन्।

नेपालदेखि अमेरिका, बेलायत र भारतसम्म सुरक्षा निकायका केनाइन युनिट अब सामान्य गार्ड डगको अवधारणाभन्दा धेरै अगाडि बढिसकेका छन्।

घटनास्थलको गन्धले अपराधीसम्म पुर्‍याउने ‘ट्र्याकर डग’

हत्या, चोरी, डकैती वा अपहरणजस्ता गम्भीर अपराध भएपछि सुरक्षाकर्मीका लागि घटनास्थलमा छोडिएका साना प्रमाण पनि महत्वपूर्ण हुन्छन्। कुकुरलाई घटनास्थलमा भेटिएको गन्धयुक्त प्रमाण वा पदचिह्न सुँघाएर सम्भावित अपराधी वा उसले प्रयोग गरेको बाटो पछ्याउन लगाइन्छ।

नेपाल प्रहरीका अनुसार यसरी अपराध अनुसन्धानमा प्रयोग हुने कुकुरलाई ट्र्याकर डग भनिन्छ। घटनास्थलमा रहेको गन्धयुक्त प्रमाण सुरक्षित राख्नुपर्ने र सकेसम्म छिटो कुकुर परिचालन गर्नुपर्ने हुन्छ।

नेपाल प्रहरीको केनाईन कार्यालयका अनुसार सामान्य अवस्थामा घटनास्थलको प्रमाणका आधारमा २४ घण्टाभित्र कुकुर परिचालन गर्दा बढी प्रभावकारी हुन्छ। तर विशेष घ्राण क्षमताका लागि परिचित ब्लडहाउन्ड जातका कुकुरले पुरानो गन्धसमेत पछ्याउन सक्ने क्षमता राख्छन्।

यसको अर्थ कुकुरले ‘अपराधी को हो’ भनेर कानुनी रूपमा फैसला गर्दैन। तर उसले अनुसन्धानकर्तालाई सम्भावित दिशा देखाउन, खोजीको क्षेत्र साँघुरो बनाउन र नयाँ सुरागसम्म पुर्‍याउन महत्वपूर्ण सहयोग गर्छ।

नेपाल प्रहरीको केनाईन कार्यालयको मूल उद्देश्य नै अपराध र अपराधीसँग सम्बन्धित तथ्य तथा प्रमाण पहिचान गरी अनुसन्धानको दायरा साँघुरो बनाउनु रहेको छ।

बम पड्किनुअघि गन्धले दिने चेतावनी

कुकुरको सबैभन्दा महत्वपूर्ण सुरक्षा भूमिकामध्ये एक हो-विस्फोटक पदार्थ खोजी।

बम वा अन्य विस्फोटक पदार्थ लुकाएर राखिएको हुन सक्छ; सवारी साधनमा, झोलामा, भवनभित्र, सार्वजनिक समारोहस्थलमा वा महत्वपूर्ण व्यक्तिको आवतजावत हुने क्षेत्रमा।

यस्ता स्थानमा तालिमप्राप्त बम डग वा एक्सप्लोसिभ डिटेक्सन डग परिचालन गरिन्छ।

नेपाल प्रहरीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशिष्ट व्यक्तिको निवास, कार्यालय, सवारी साधन, सवारी मार्ग, समारोहस्थल तथा महत्वपूर्ण प्रतिष्ठानमा विस्फोटक पदार्थ खोज्न कुकुर परिचालन गर्ने जनाएको छ। विस्फोटक पदार्थ सक्रिय हुनुअघि गन्धका आधारमा पहिचान गरी सम्भावित जनधनको क्षति रोक्न यस्ता कुकुर प्रभावकारी मानिन्छन्।

अमेरिकामा पनि सुरक्षा निकायले यही क्षमतालाई अझ विशेष अनुसन्धानसँग जोडेर प्रयोग गरिरहेका छन्। अमेरिकी ब्युरो अफ अल्कोहल, टोबाको, फायरआर्म्स एन्ड एक्सप्लोसिभ्स (ATF) का कुकुरलाई व्यावसायिक, सैनिक तथा घरेलु रूपमा बनाइएका विभिन्न प्रकारका विस्फोटकको गन्ध पहिचान गर्न तालिम दिइन्छ। कतिपय विशेष कुकुरलाई बन्दुक, गोलीका खोका तथा अन्य हतियारसम्बन्धी प्रमाण खोज्न समेत प्रशिक्षित गरिन्छ।

झोलाभित्रको लागूऔषधदेखि सीमापार तस्करीसम्म

लागूऔषधको अवैध कारोबार नियन्त्रणमा पनि कुकुर सुरक्षा निकायका महत्वपूर्ण सहयोगी हुन्।

लागूऔषधलाई झोला, सवारी साधन, सामान वा अन्य वस्तुभित्र लुकाएर ओसारपसार गर्न सकिन्छ। तर विशेष गन्ध पहिचानको तालिम प्राप्त कुकुरले त्यस्तो वस्तुमा प्रतिक्रिया जनाएर सुरक्षाकर्मीलाई सम्भावित स्थान देखाउन सक्छ।

नेपाल प्रहरीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सीमा नाका, होटल, रेस्टुराँ, विमानस्थल तथा अन्य शंकास्पद क्षेत्रमा ड्रग्स वा नार्कोटिक्स डग परिचालन गर्ने जनाएको छ। यस्ता कुकुरलाई अवैध लागूऔषधको गन्ध पहिचान गर्न विशेष तालिम दिइन्छ।

विमानस्थल, बन्दरगाह, सीमा नाका र ठूला यातायात केन्द्रमा विश्वभर यस्ता कुकुरको व्यापक प्रयोग भइरहेको छ।

सुरक्षाकर्मीले प्रत्येक यात्रु वा सामानलाई लामो समय लगाएर जाँच गर्नुपर्ने अवस्थामा कुकुरको तीव्र गन्ध पहिचान क्षमताले खोजीलाई छिटो र लक्षित बनाउन मद्दत गर्छ।

भग्नावशेषमुनि ‘जीवनको गन्ध’ खोज्ने उद्धारकर्मी

कुकुरको भूमिका अपराध अनुसन्धान र सुरक्षा जाँचमा मात्र सीमित छैन।

भूकम्प, पहिरो, बाढी वा अन्य विपद्पछि मानिस पुरिएको, हराएको वा बेपत्ता भएको अवस्थामा सर्च एन्ड रेस्क्यु (SAR) डग परिचालन गरिन्छ।

नेपाल प्रहरीका अनुसार प्राकृतिक प्रकोपमा पुरिएका, हराएका वा बेपत्ता भएका मानिसको खोजी तथा उद्धारमा विशेष तालिमप्राप्त कुकुर प्रयोग गरिन्छ। अपहरणपछि लुकाइएका मानिसको खोजीमा समेत यस्ता कुकुर प्रयोग हुन सक्छन्।

विशेषगरी ठूलो भग्नावशेष वा कठिन भूगोलमा कुकुरको उपयोगिता बढी हुन्छ। मानिस वा भारी उपकरण पुग्न कठिन स्थानमा कुकुरले ठूलो क्षेत्र तुलनात्मक रूपमा छिटो खोज्न सक्छ।

हालैका विपद् खोजी–उद्धार अनुभवमा नेपाल प्रहरीले पनि भग्नावशेष, माटो र हिलोमा पुरिएका मानिसको सम्भावित स्थान पहिचान गर्न केनाइनको प्रयोग प्रभावकारी हुने जनाएको छ।

यद्यपि कुकुर पनि मेसिन होइन। लगातार लामो समय खोजी गर्दा उसको क्षमता घट्न सक्छ। नेपाल प्रहरीका केनाइन अधिकारीका अनुसार सामान्यतया करिब ३० मिनेट खोजी गराएपछि १५ देखि २० मिनेटसम्म विश्राम दिने अभ्यास गरिन्छ।

कुकुर मात्र होइन, ‘कुकुर र ह्यान्डलर’ नै एउटा टोली

सुरक्षाकर्मीको कुकुरलाई हेर्ने अर्को महत्वपूर्ण पक्ष हो, यो एक्लै काम गर्ने जनावर होइन।

वास्तविक परिचालनमा कुकुर र उसको ह्यान्डलर मिलेर एउटा टोली बन्छन्।

ह्यान्डलरले कुकुरलाई संकेत दिन्छ, खोजीको क्षेत्र निर्धारण गर्छ, कुकुरको व्यवहार पढ्छ र उसको प्रतिक्रिया अनुसन्धानकर्तासम्म पुर्‍याउँछ। कुकुरले पनि लामो समयसम्म एउटै ह्यान्डलरसँग काम गर्दा आदेश, संकेत र कार्यशैली बुझ्दै जान्छ।

नेपालमा पनि एउटा कुकुरका लागि एक जना ह्यान्डलर रहने अभ्यास छ। कुकुरलाई दैनिक शारीरिक तथा विषयगत तालिम दिइने र ह्यान्डलरसँगको समन्वयलाई विशेष महत्व दिइन्छ।

यही कारण विश्वका धेरै सुरक्षा निकायले कुकुरलाई मात्र होइन, ह्यान्डलरलाई समेत समानान्तर रूपमा विशेष तालिम दिन्छन्।

कति समय तालिम लिएपछि मैदानमा उत्रन्छन् ?

यसको एउटै विश्वव्यापी उत्तर छैन।

कुकुरको जात, उमेर, स्वभाव र उसलाई दिइने जिम्मेवारीअनुसार तालिमको अवधि फरक हुन्छ।

नेपालमा प्रकाशित विवरणअनुसार केही कुकुरलाई आधारभूत तालिमपछि उनीहरूको क्षमता र स्वभावअनुसार विशेषज्ञता दिइन्छ। पछिल्ला विवरणमा नेपाल प्रहरीसँग रहेका विभिन्न जातका कुकुरलाई करिब ६ महिनादेखि एक वर्षसम्म विशेष तालिम दिएपछि कार्यक्षेत्रमा परिचालन गरिने उल्लेख छ।

नेपालमा ट्र्याकिङजस्तो जटिल विशेषज्ञताका लागि लामो समय लाग्न सक्छ। प्रहरीसम्बन्धी प्रकाशित विवरणमा ट्र्याकिङ कुकुरलाई दक्ष बनाउन करिब एक वर्ष र केही अन्य विधामा करिब ६ महिना लाग्न सक्ने उल्लेख गरिएको छ।

नेपाल प्रहरीको केनाईन कार्यालयले अहिले विभिन्न प्रकृतिका तालिम सञ्चालन गर्दै आएको छ। यसमा;

बेसिक डग ह्यान्डलिङ,

हातहतियार तथा विस्फोटक पदार्थ खोजी र पहिचान,

लागूऔषध खोजी र पहिचान,

अपराध अनुसन्धानका लागि ट्र्याकर कुकुर,

मानव खोजी तथा उद्धार,

आधारभूत पशु स्वास्थ्य,

केनाईन ह्यान्डलिङ तथा परिचालन

जस्ता विषय समावेश छन्।

तालिम पूरा भएपछि पनि सिकाइ सकिँदैन। कार्यक्षेत्रमा पुगेपछि पनि कुकुरको क्षमता कायम राख्न नियमित पुनर्तालिम, अभ्यास र मूल्यांकन आवश्यक हुन्छ।

अमेरिकामा ६ हप्तादेखि २४ हप्तासम्मको विशेष प्रशिक्षण

विश्वका विभिन्न सुरक्षा निकायले जिम्मेवारीअनुसार फरक अवधि र स्तरको प्रशिक्षण दिएका छन्।

अमेरिकाको ATF का केही विशेष डिटेक्सन कुकुरका लागि प्रारम्भिक ६ हप्ताको प्रशिक्षणपछि ह्यान्डलरसँग थप तालिम सञ्चालन गरिन्छ।

विस्फोटक तथा आगलागीसम्बन्धी पदार्थ पहिचान गर्ने कुकुरका लागि नियमित अभ्यास र पुनःप्रमाणीकरण पनि आवश्यक हुन्छ।

तर जटिल अपराध अनुसन्धानका लागि तयार गरिने ATF को Search Enhanced Evidence K-9 (S.E.E.K.) कार्यक्रममा कुकुर र ह्यान्डलरको तालिम निकै लामो छ।

यो कार्यक्रम २४ हप्ताको हुन्छ। सुरुका १२ हप्तामा कुकुरलाई विशेषज्ञ प्रशिक्षकले तयार गर्छन् भने त्यसपछि ह्यान्डलरसँग थप १२ हप्ताको संयुक्त प्रशिक्षण हुन्छ।

यस क्रममा भवन, सवारी साधन, झोला तथा अन्य वस्तु, खुला क्षेत्र र ठूलो सार्वजनिक कार्यक्रमस्थलमा खोजी गर्न कुकुरलाई प्रशिक्षित गरिन्छ।

खतरनाक अपराधी खोज्न अमेरिकामा ६ महिनाको तालिम

उच्च जोखिमका सुरक्षा अभियानमा प्रयोग हुने कुकुरलाई अझ फरक प्रकारको प्रशिक्षण आवश्यक हुन्छ।

ATF को विशेष प्रतिक्रिया टोलीका कुकुरलाई खतरनाक वातावरणमा अपराधी खोज्ने, पछ्याउने, नियन्त्रणमा सहयोग गर्ने तथा विस्फोटक वा अन्य खतरनाक वस्तु पत्ता लगाउने क्षमता विकास गरिन्छ।

यस्ता ट्याक्टिकल केनाइन टोलीले करिब ६ महिनाको कठोर प्रशिक्षण पार गर्नुपर्ने हुन्छ। तालिमका क्रममा कुकुर र ह्यान्डलरलाई वास्तविक घटनाजस्तै परिस्थितिमा निरन्तर मूल्यांकन गरिन्छ।

बेलायतमा १२ हप्ताको आधारभूत प्रहरी कुकुर पाठ्यक्रम

बेलायतका प्रहरी निकायमा पनि कुकुर र ह्यान्डलरलाई संयुक्त टोलीका रूपमा तयार गरिन्छ।

सरे प्रहरीको डग ट्रेनिङ पाठ्यक्रममा आधारभूत ट्र्याकिङ, भवन वा परिसरमा लुकेका मानिस खोज्ने, अपराधीलाई पछ्याउने, नियन्त्रणमा सहयोग गर्ने, भीड नियन्त्रण, आज्ञापालन र बाधा पार गर्ने जस्ता सीप समावेश छन्।

यसको एउटा आधारभूत व्यावहारिक पाठ्यक्रम १२ हप्ताको रहेको छ।

छिमेकी भारतमा ४० हप्तासम्मको बहुकार्यात्मक तालिम

भारतमा पनि प्रहरी तथा अर्धसैनिक बलले कुकुरलाई विभिन्न सुरक्षा जिम्मेवारीका लागि प्रयोग गर्छन्।

केन्द्रीय रिजर्भ प्रहरी बल (CRPF) अन्तर्गतको डग ब्रीडिङ एन्ड ट्रेनिङ स्कुलले विस्फोटक पहिचान, ट्र्याकिङ, आक्रमण र अन्य बहुकार्यात्मक जिम्मेवारीका लागि कुकुर र ह्यान्डलरलाई तयार गर्छ।

यस संस्थाको विवरणअनुसार बेसिक डग ह्यान्डलर कोर्स (मल्टिटास्किङ) ४० हप्तासम्मको रहेको छ।

यसले पनि एउटा महत्वपूर्ण तथ्य देखाउँछ;आधुनिक सुरक्षा क्षेत्रमा कुकुरलाई केवल ‘आदेश मान्ने जनावर’का रूपमा होइन, निश्चित विशेषज्ञता भएको परिचालन टोलीका सदस्यका रूपमा विकास गरिँदैछ।

कुन कुकुरलाई कुन जिम्मेवारी ?

सबै कुकुर समान कामका लागि उपयुक्त हुँदैनन्।

उनीहरूको जात, शारीरिक क्षमता, स्वभाव, ऊर्जा, एकाग्रता र गन्ध पछ्याउने क्षमताका आधारमा विशेषज्ञता छनोट गरिन्छ।

नेपालमा पनि कुकुरको स्वभावअनुसार जिम्मेवारी छुट्याउने गरिएको छ। चञ्चल र सक्रिय स्वभाव भएका कुकुरलाई लागूऔषधजस्ता खोजी कार्यमा तथा शान्त स्वभाव भएका कुकुरलाई ट्र्याकिङमा प्रयोग गर्न सकिने अभ्यास रहेको विवरण सार्वजनिक भएको छ।

जर्मन सेफर्ड, बेल्जियन मालिनोइस, ल्याब्राडोर, गोल्डेन रिट्रिभर, बीगल तथा ब्लडहाउन्डजस्ता जातलाई विश्वका विभिन्न निकायले उनीहरूको विशेष क्षमताका आधारमा फरक–फरक काममा प्रयोग गर्दै आएका छन्।

कतिपय जात शारीरिक क्षमता, फुर्तिलोपन र नियन्त्रणका लागि उपयुक्त हुन्छन् भने कतिपयको घ्राणशक्ति र खोजी गर्ने निरन्तर क्षमता विशेष प्रभावकारी हुन्छ।

नेपालमा पाँच दशकभन्दा लामो इतिहास

नेपाल प्रहरीमा पनि प्रहरी कुकुरको प्रयोग नयाँ अभ्यास होइन।

नेपाल प्रहरीसम्बन्धी प्रकाशित विवरणअनुसार नेपालमा प्रहरी कुकुर सेवाको सुरुआती इतिहास सन् १९६० को दशकसम्म पुग्छ। पछि केन्द्रीय प्रहरी कुकुर तालिम संरचना स्थापना गर्दै लागूऔषध, विस्फोटक पदार्थ र अपराध अनुसन्धानलगायत क्षेत्रमा सेवा विस्तार गरिएको हो। नेपाल प्रहरी एकेडेमीले केन्द्रीय प्रहरी डग ट्रेनिङ स्कुल सन् १९६९ मा स्थापना भएको र पछि यसलाई थप व्यवस्थित गरिएको जनाएको छ।

नेपाल प्रहरीको केनाईन कार्यालयले अहिले अपराध अनुसन्धानदेखि खोजी–उद्धारसम्मका लागि विभिन्न विशेषज्ञता भएका कुकुर र ह्यान्डलर तयार पारिरहेको छ।

प्रविधि बढे पनि कुकुर किन अझै आवश्यक ?

आज ड्रोन छन्। थर्मल क्यामेरा छन्। सीसीटीभी छन्। अत्याधुनिक स्क्यानर छन्। डीएनए परीक्षण र डिजिटल फरेन्सिकजस्ता प्रविधि छन्।

तर यस्ता प्रविधिको विकाससँगै कुकुरको भूमिका समाप्त भएको छैन।

किनकी, गन्धको संसारमा कुकुरको क्षमता अझै सुरक्षाकर्मीका लागि अत्यन्त उपयोगी छ।

विशेष गरी;

अपराधीको सम्भावित बाटो पछ्याउन,

लुकाइएको विस्फोटक पहिचान गर्न,

लागूऔषध खोज्न,

हथियार वा प्रमाण पत्ता लगाउन,

हराएका मानिस खोज्न र

विपद्को भग्नावशेषमा सम्भावित जीवनको संकेत पत्ता लगाउन;

कुकुरले मानव टोली र प्रविधिलाई पूरक सहयोग गर्छ।

यसकारण आधुनिक सुरक्षा प्रणालीमा कुकुरलाई कुनै प्रविधिको विकल्पका रूपमा होइन, मानव, प्रविधि र विशेष घ्राण क्षमताको संयुक्त सुरक्षा प्रणालीको महत्वपूर्ण अंगका रूपमा हेरिँदैछ।

कुकुर तिहारमा आज माला र टीका लगाएर सम्मान गरिने कुकुर, बाँकी दिन भने सुरक्षाकर्मीको साथमा कहिले अपराधीको गन्ध पछ्याइरहेको हुन्छ, कहिले बम पड्किनुअघि खतरा खोजिरहेको हुन्छ, त कहिले भग्नावशेषभित्र थुनिएको मानिससम्म पुग्ने बाटो पहिल्याइरहेको हुन्छ।

प्रहरी र सुरक्षाकर्मीका लागि कुकुर केवल ‘गार्ड डग’मात्र होइन, गन्धको आधारमा सुराग खोज्ने अनुसन्धान सहयोगी, विस्फोटकविरुद्धको सुरक्षा कवच र विपद्मा जीवन खोज्ने ‘चारखुट्टे उद्धारकर्मी’ बनेको छ।

प्रकाशित: २२ कार्तिक २०८३ ०७:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App