समाज

भारी वर्षा र विपद् जोखिमबारे ५८ बस्तीमा सुरक्षाकर्मीको माइकिङ

भारी वर्षा डुबान सहित सम्भावित विपद् जोखिमलाई मध्यनजर गर्दै कपिलवस्तुका सुरक्षाकर्मीले ५८ बस्तीमा माइकिङ र सचेतनामूलक पम्पप्लेट वितरण गरेका छन्।

विशेष गरी बाणगंगा नदी अन्तर्गतका क्षेत्र तथा बस्तीहरू नेपाल र सशस्त्र प्रहरीको संयुक्त टोलीले सचेत र सुरक्षित रहन आग्रहसहित माइकिङ गरेको हो।

४८ प्रहरी इकाईले कपिलवस्तुको बाणगंगा नगरपालिका अन्तर्गत पर्ने बाणगंगा नदी क्षेत्र, कपिलवस्तुका अकबरपुर महाराजगन्जको हदौना लगायतका क्षेत्रमा १ सय ९२ जना प्रहरी टोलीले माइकिङसहित पर्चा पम्पप्लेट वितरण गरिएको प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले बताए।

भारी वर्षाले गर्दा नदीको बहाव बढ्ने, डुबान र कटानको समेत समस्या आउने भएकाले त्यसका लागि सचेत रहन उनले आग्रह गरे। सिंहले जिल्लाका सबै प्रहरी युनिटलाई सचेत र सम्भावित विपद् जोखिममा तयारी अवस्था रहन निर्देशन समेत दिइएको बताए।  

उता जिल्ला विपद् व्यवस्थापन समितिले समेत सम्भावित विपद्लाई मध्य नजर गरी सुरक्षाकर्मीलाई अलर्ट रहन आग्रह गरेको छ। पालिकाहरूलाई समेत भारी वर्षाको जोखिमले निम्त्याउन सक्ने विपद् विरुद्ध तयारी अवस्थामा रहन समेत आग्रह गरिएको सहायक प्रजिअ भबिश्वर घिमिरेले बताए।

यस्तै, जिल्ला ट्राफिक कार्यालयले समेत सम्भावित जोखिमलाई मध्यनजर गरी चन्द्रौटा र गोरुसिङ्गेमा सवारी चालकहरूलाई पर्चा पम्प्लेट वितरण गरेको छ।

ट्राफिक कार्यालयका प्रहरी निरीक्षक राज ढकाले आफूहरूले चालकहरूलाई सचेत रहन आग्रह गर्दै पर्चा र पम्प्लेट समेत वितरण गरिएको बताए।

यस्तै शिवराज नगरपालिका १ चोरखोला र धानखोलामा वर्षाले आउन सक्ने पैरो र बाटा अवरुद्ध हुन सक्ने विषयमा समेत ध्यान दिइएको उनले बताए।

प्रकाशित: ९ आश्विन २०८३ १७:२४ शुक्रबार