भोटेकोसीबाट आएको भीषण बाढीका कारण क्षणभरमै बगरमा परिणत भएको त्रिशूली बजारमा हराइरहेका आफन्तको खोजी गर्नेको भिड नै लागेको छ। तिब्बती क्षेत्रबाट बुधबार बिहान भयंकर सुनामीझैं चर्को आवाजका साथ मडारिएर आएको पुरै लेदोसहितको बाढीले छोप्दा नुवाकोटकै पुरानो ठुलो बजार त्रिशूली आधा घण्टाको अन्तरालमै खण्डहर बनेको थियो। त्यहाँका स्थानीय सम्पर्कविहीन आफन्त भेटिने आशामा बिहीबार दिनभरि यताउति भौंतारिएका थिए।
भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीले नुवाकोटका त्रिशूली बजार र देवीघाट बजार तथा रसुवाका बेत्रावती, टिमुरे र स्याफ्रुबेंसी बजार आसपासका क्षेत्र बगरमा परिणत गरिदिएको छ। ठुला ढलाने घरहरू १० फिटभन्दा माथिसम्म पुरिएका छन्। यस्तो अकल्पनीय प्राकृतिक विपत्तिपछि प्रभावित क्षेत्रमा विद्युत् अवरूद्ध भएर मोबाइल चार्ज गर्नसमेत समस्या हुँदा सञ्चार सम्पर्क विच्छेद हुन पुगेको छ। बाहिर रहेकाहरूलाई आफ्ना सम्पर्कविहीन आफन्तहरूको अवस्था बुझ्न निकै कठिनाइ भइरहेको छ।
प्रभावित क्षेत्रमा बिहीबार दिनभरि १० वटा हेलिकोप्टरमार्फत बाढीमा परी घाइते भएका, रातभर भिरमा फसेकाको उद्धार तथा खोजी कार्य तीव्र बनाइएको छ।
खोजी तथा उद्धारको प्रयासका बाबजुद अझै त्रिशूली बजारभन्दा वारिपट्टिको ढुंगेबजार क्षेत्रमा आफन्तहरू बेपत्ताको जानकारी पाइएला भन्ने आशामा छटपटाइरहेका छन्।
नुवाकोटको विदुर नगरपालिका–१२ स्थित सहिद भरत ढुंगाना स्मृति आवासीय माविका शिक्षक दीपक ढुंगानाले १५ सेकेन्डले बाढीबाट बाँच्न सफल भएको बताए। उनले दिनभर हराइरहेका आफन्त खोज्न अनेक प्रयास गरिरहेको बताए। उनले नुवाकोटमा भएका सबै विद्युत् आयोजना पूर्ण क्षति भएपछि विद्युत् अवरुद्ध भएर मोबाइल चार्ज गर्नसमेत नसकेको र होटलमा खाना खाएको पैसा तिर्न मोबाइल बैंकिङ सेवासमेत नपाएको गुनासो गरे।
विद्युत् अवरुद्ध भएपछि अहिले नुवाकोटमा बैंकिङ सेवाहरू पुरै अवरुद्ध भएको छ। बैंकका शाखा कार्यालयहरू बन्द छन्। मोबाइल बैंकिङ सेवा अवरुद्ध छ। बाढीले खानेपानी लाइनका पाइप सबै बगाएको छ। त्यसकारण त्रिशूली, विदुर र बट्टार बजारमा खानेपानीको समेत अभाव छ।
बुधबारबाट विद्युत् नभएपछि अहिले विदुर बजारका होटलहरूमा नगदै दिए मात्र खाजा र खाना खान पाइरहेको अवस्था छ। नेटवर्कमा समस्या भई टेलिकमका सिमकार्ड चलाउनेहरूसँग ई–सेवा, क्युआर तथा सबै मोबाइल बैंकिङ सेवा अवरुद्ध भएपछि अहिले नुवाकोटको विदुर बजार क्षेत्रका अधिकांश होटल तथा रेस्टुरेन्टले ग्राहकसँग नगद पैसा नै मागिरहेका हुन्।
आफ्ना बेपत्ता मान्छे खोज्न पुगेकालाई मोबाइल नेटवर्क अवरुद्ध हुँदा झनै सास्ती भएको छ। विदुरस्थित नेपाली सेनाको मैथिली ब्यारेकमा आफ्ना बेपत्ता आफन्त खोज्न पुगेका आशाबहादुर तामाङले पनि दिनभर हेलिकोप्टरले ओसारेका घाइते तथा मृतकमा आफ्नो मान्छे नभेटिएको बताए।
त्यस्तै देवीघाटस्थित आफ्नै ढलान घरको दोस्रो तलाबाट बाढीले बेपत्ता भएका निरज भण्डारीका काका धनबहादुर भण्डारीले पनि अहिलेसम्म आफ्नो भतिजाे फेला पार्न नसकिएको बताए। आफ्ना बेपत्ता मान्छे नभेटिएपछि आफन्तहरू त्रिशूली बजार क्षेत्रका अस्पताल र सैनिक ब्यारेकमा दौडिरहेका देखिन्थे।
‘रूखमा समातेर ज्यान जोगाएँ’
नुवाकोटको बेल्कोटगढी नगरपालिका-१ आरुखर्कका सोमबहादुर तामाङले बाढीमा बग्ने क्रममा रूखको हाँगामा समातेर बल्लतल्ल ज्यान बचाएको बताए। बाढीमा बग्दा बायाँ हात र एउटा औंला भाँचिएको पनि उनले जानकारी दिए।
आयुर्वेद अस्पतालमा हात र औंलाको उपचार गराइरहेका तामाङले मोबाइल पनि बाढीमा बगेको बताए। ‘बाढीमा बग्दा धन्न एउटा रूखको हाँगामा समाउन पाइयो र ज्यान बँच्यो,’ उनले भने, ‘हात र एउटा औंला भाँचिएकाले उपचारका लागि आएको हुँ।’
देवीघाटस्थित आफू बस्ने कोठाको नगद एक लाख रुपैयाँ पनि हराएको उनले बताए। ‘तीन वटा खसी र सुनका गहना गरी करिब साढे चार लाखको सामान बाढीले बगायो,’ उनले भने। आफूसँग लगाइएको कपडाबाहेक केही पनि साथमा नभएको उनको भनाइ थियो।
‘धन्न दुई सेकेन्डले बाँचे’
बिहीबार नुवाकोटको ढुंगेबजार क्षेत्रमा पनि हराइरहेका आफ्ना मान्छे खोज्न जानेहरूको भिडमा भेटिए विदुर नगरपालिका-१० गेर्खुटार २ नम्बर पुलछेउका सुदर्शन प्याकुरेल। आफू धन्न दुई सेकेन्डले बाँचेको तर पत्नीसहित परिवारका ६ जना सदस्य बेपत्ता भएको उनले बताए। ‘परिवारजन भेटिने आशामा यहाँ आएको हुँ,’ उनले भने।
पाँच महिनाअघि बुबा बितेर शोकमा रहेको बेला फेरि यस्तो बज्रपात भएको उनले बताए। ‘बाढी आउँदा हामी सबै जना खेतमा रोपो गोडिरहेका थियौं,’ उनले भने, ‘श्रीमती, बुहारीलगायत ६ जना बेपत्ता भएका छन्।’ उनले आफ्नो घरपरिवारका ६ जना र ढुंगेमा रहेको बिजुली पसल पुरै बाढीले बगाएको बताए। उनले आफ्नो पसललगायत अन्य छिमेकीको गरी करोडौं रुपैयाँको क्षति भएको जानकारी गराए।
प्रकाशित: १२ भाद्र २०८३ १२:४० शुक्रबार