रसुवाको मैलुङस्थित आर्मी शेरगण चेकपोस्टको कमाण्ड सम्हाल्न पुगेका नेपाली सेनाका सहसेनानी रामराजा रिमाल भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका छन् ।
भदौ ५ गते काठमाडौंबाट सरुवा भएर रसुवा पुगेका रिमाल भदौ १० गते बिहान करिब ९ बजेर ९ मिनेटको समयमा परिवारको सम्पर्कमा आएका थिए । त्यसपछि भने उनको कुनै खबर नभएको उनकी श्रीमती मीना थापाले बताएकी छन् ।
बाढी आएको समयदेखि नै सम्पर्कविहीन रहेका रिमालको खोजीका लागि परिवार तथा सुरक्षाकर्मीले प्रयास गरिरहेका छन् । केही दिनदेखि रसुवाका विभिन्न क्षेत्रमा खोजी गरिए पनि उनको अवस्था पत्ता लाग्न नसकेको परिवारले जनाएको छ ।
हाल अध्ययनका लागि दक्षिण कोरियामा रहेकी उनकी छोरी मन्दिरा रिमालले सामाजिक सञ्जालमार्फत बुबाको खोजीमा सहयोग गरिदिन भावुक अपिल गरेकी छन् । रुँदै बुबाको अवस्था पत्ता लगाउन आग्रह गरेको उनको भिडियो तथा सन्देश सामाजिक सञ्जालमा फैलिएको छ । त्यसपछि सामाजिक सञ्जालमार्फत समेत रिमालको खोजीका लागि पहल भइरहेको छ ।
रिमालका जुम्ल्याहा छोरा छन् । उनीहरू एसईई दिने तयारीमा छन् । उनको हालको बसोबास काठमाडौंको तारकेश्वर नगरपालिका क्षेत्रमा रहेको छ भने पुर्ख्यौली घर त्रिशूली हो ।
रिमालको खोजीका लागि उनका भाइ रामचन्द्र (आरसी) रिमालसमेत सक्रिय भएका छन् । रसुवा क्षेत्रमा केही दिन खोजी गर्दा पनि रिमालको अवस्थाबारे कुनै जानकारी प्राप्त नभएपछि आरसी रिमालसहितको टोली अहिले हेटौंडा पुगेको छ । टोलीले हेटौंडाबाट समेत खोजीलाई निरन्तरता दिने तयारी गरेको परिवारले जनाएको छ ।
भोटेकोशी बाढीपछि रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ भने नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मीसहित सर्वसाधारणसमेत सम्पर्कविहीन भएका छन् । रिमाल पनि बाढीको समयमा ड्युटीमै रहेका बेला सम्पर्कविहीन भएको परिवारको भनाइ छ।
प्रकाशित: १४ भाद्र २०८३ १६:२३ आइतबार