कपिलवस्तुको तौलिहवा–चार नम्बर सडकखण्डअन्तर्गत वाणगंगा नगरपालिका–४ गजेहडा चोकनजिक ट्याक्टरको ठक्करबाट स्कुटी चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
बुधबार दिउँसो करिब ४ बजे गजेहडाबाट सिउटीतर्फ जाँदै गरेको लु.प्र.०१–०१२ प १२६५ नम्बरको स्कुटीले सोही दिशातर्फ जाँदै गरेको लु.३ त ७३८३ नम्बरको ट्याक्टरलाई ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट आएको लु.प्र.०१–००९ प २४०२ नम्बरको ई–स्कुटीसँग ठोक्किएको थियो।
दुर्घटनाका क्रममा ट्याक्टरको अगाडिको पांग्राले स्कुटी चालक रुपन्देहीको कञ्चन गाउँपालिका–५ भैसहीका २७ वर्षीय रुद्रनारायण थारूलाई ठक्कर दिएको थियो। गम्भीर घाइते थारूको पिपरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ।
दुर्घटनामा ई–स्कुटी चालक वाणगंगा नगरपालिका–८ बोडगाउँकी ३५ वर्षीया रेखा घिमिरे घाइते भएकी छन्। उनको युनाइटेड अस्पतालमा उपचार भइरहेको छ।
ट्याक्टर चालक वाणगंगा नगरपालिका–११ मैरीका ३५ वर्षीय बमबहादुर चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको छ।
प्रकाशित: ३१ भाद्र २०८३ २०:१८ बुधबार